मालपोतमा मध्यराति २३ करोड चलखेल

metrocity-hospital
ईश्वरी न्यौपाने
पोखरा-, भाद्र १ - मालपोत कार्यालय पोखरामा आइतबार मध्यरात झलमल्ल देखिन्थ्यो । कार र मोटरसाइकल ओहोरदोहोर गरिरहेका थिए । बन्दले दिउँसो काम नभएर फुर्सदिलो बनेका कर्मचारी रातको १० बजेपछि एक्कासि सक्रिय भएको देख्दा स्थानीय छक्क परे ।

अघिपछि दिउँसो २ बज्नासाथ अब भ्याइँदैन भन्दै सेवाग्राहीको फाइल फर्काउने कर्मचारीहरू मध्यरातमा कार्यालय खोलेर काम गर्न थालेका थिए । सर्वसाधारणको काम सक्दो ढिलाइ गर्न खोज्ने कर्मचारीले रातमा समेत काम गरिदिएपछि करोडौं रुपैयाँको कारोबार भयो ।

सरकारी स्वामित्वका दुई र एक निजी वित्तीय संस्था संलग्न जग्गाको काम मध्यरातमा भएपछि आर्थिक लेनदेन र जग्गा कारोबार चलखेलका विभिन्न आशंकासमेत उठेका छन् ।

काठमाडौंस्थित नेपाल बंगलादेश बैंक बिजुली बजार, नेपाल बैंक लिमिटेड धर्मपथ र कर्मचारी सञ्चयकोष पुल्चोकको लिलामी जग्गा व्यक्तिले सकारी मध्यरातमा अन्यलाई बिक्री गरियो । त्यहीमध्येको जग्गा राखेर मालपोत कार्यालयभित्रै स्थानीय बैंकले पाँच करोड रुपैयाँ भुक्तानीसमेत दिएपछि यो प्रकरण झन् शंकास्पद भएको हो ।

त्यसक्रममा २० कित्ताभन्दा बढी घरजग्गा किनबेच र राजस्वसमेत गरी २३ करोड १५ लाख ६० हजार रुपैयाँको कारोबार भएको अभिलेखमा उल्लेख छ ।

तीनवटा बैंकले सिर्जनाचोकस्थित कौशिला आइरन एन्ड इन्डस्टि्रज प्रालिको नाममा धितो रहेका घरजग्गा दुई जनाले लिएको दाखिला खारेज मालपोतले गरेको प्रमुख मालपोत अधिकृत मुकुन्दप्रसाद ढकालले बताए । उनका अनुसार डिलबहादुर छेत्री, जगबहादुर गुरुङ, नेत्रकुमारी गुरुङ, संगीता गुरुङसेनीको पोखरा सहरको ८, १० र १७ वडामा रहेका करिब १५ कित्ता जग्गा स्याङ्जा जिल्ला राङबाङका तनबहादुर थापा एक्लैले ११ करोड ७० लाख रुपैयाँमा लिएका हुन् । त्यस्तै गुरुङसेनीकै पोखरा-१० को ५ कित्ता जग्गा भने उनै थापा र गोरखा जिल्ला गोरखकाली गाविसका हरिबाबु जोशीले संयुक्त रूपमा एक करोड ३५ लाख रुपैयाँमा सकारेका थिए ।

ती जग्गामध्ये पोखरा-८ सिर्जनाचोकमा अहिले मेट्रो सिटी हस्पिटल रहेको ६ कित्ता घरजग्गा ती व्यक्तिले रजिस्टे्रसन पास गरी बिक्री मध्यरातमै गरियो । हस्पिटल रहेको तीनवटा घरसमेतको १ रोपनी ३ आना ३ दाम जग्गा मेट्रो सिटी हस्पिटल प्रालिलाई तनबहादुरले बिक्री गरे । उक्त हस्पिटल यसअघि सोही घरमा भाडामा बस्दै आएको थियो ।

उक्त घरजग्गा बैंकलाई छ करोड ७५ लाख रुपैयाँ दिएर आफ्नो बनाएको केही क्षण नबित्दै हस्पिटललाई नौ करोड रुपैयाँमा बिक्री गरिएको अभिलेखमा उल्लेख छ । यसैबीच हस्पिटलले पास गरेको जग्गा मध्यरातमै अर्कै एक बैंकमा धितोबन्धक पास गरी ऋण लिने कामसमेत भयो ।
pokhara_airport
हिमचुली विकास बैंकले स्थिर पुँजी खरिद गर्ने परियोजनामा हस्पिटलको स्वप्रयोजनका लागि ‘टर्म लोन’ (ऋण) प्रदान गरेको हो । करिब पाँच करोड रुपैयाँ बैंकले हस्पिटललाई लगानी गरेको देखिन्छ ।

१३ करोड पाँच लाख रुपैयाँ बैंकलाई दिएर दाखिला खारेज गरेबापतको ४ प्रतिशतले ५४ लाख ८० हजार, नौ करोड रुपैयाँको हस्पिटललाई रजिस्ट्रेसनबापत ३६ लाख र पुँजीगत लाभांशबापत १९ लाख ८० हजार गरी एक करोड १० लाख ६० हजार रुपैयाँ राजस्व प्राप्त भएको अधिकृत ढकालले बताए ।

ढकालले यी सबै काम राति अबेरसम्म बसेर नियमसंगत गरिएको दाबी गरेका छन् । ‘कुनै अनियमित भएको छैन, सम्बन्धित सरोकारवालाले जरुरी देखाएका कारण व्यावहारिक समस्या बुझेर रातिसम्म कर्मचारी राखेर काम गराइएको हो,’ ढकालले भने, ‘मैले कुनै प्रलोभन वा दबाबमा काम गरेको होइन ।’

मेट्रो सिटी हस्पिटलका प्रबन्ध निर्देशक हरि कोइरालाले लिलाम गर्ने बैंकको दाखिला खारेज गर्ने भदौ १ गते अन्तिम दिन भएका कारण टेन्डरवालाको अवधिभित्र काम सक्नुपर्ने बाध्यता भएकाले मालपोत कार्यालयलाई एकै दिनमा काम सकिदिन अनुरोध गरिएको र सोहीअनुसार काम भएको बताए । लिलाम सकार्नेले दाखिला खारेज गरेर लिएपछि अन्यले भने जहिले पनि लिन सक्ने अवस्था हुँदाहुँदै हस्पिटलले सोही दिन लिनुपर्ने बाध्यात्मक अवस्था भने खुलेको छैन । राति पौन १२ बजेसम्म मालपोतमा चलहपहल जारी थियो ।

प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले निर्वाचन र राजस्व कार्यालयले माथिल्लो निकायको स्वीकृतिमा बढी समय काम गर्न सक्ने र अन्य कार्यालयले स्थानीय प्रशासनसँग अनुमति लिनुपर्ने उल्लेख गर्दै तर मालपोतले भने जानकारीसमेत नदिएको बताए । ‘मालपोतमा आजकाल त्यति भीड पनि छैन, दिउँसै काम गर्न सकिन्छ, त्यो अनियमितता हो, कानुनतः राति गर्न मिल्दैन,’ उनले भने । प्रजिअ कोइरालाले आइतबार नै मालपोत प्रमुखलाई स्पष्टीकरण सोधेका छन् । ‘जवाफ चित्तबुझ्दो नआए कारबाही हुन्छ,’ उनले भने ।

यसैबीच मालपोतमा रातारात काम भएको जानकारी पाएर गएको प्रहरीले बाहिरको शान्ति सुरक्षाको अवस्था सामान्य देखिएको र कार्यालयले कुनै जानकारी नदिएका कारण भित्र खानतलासी नगरेको जनाएको छ । ‘सरकारी कार्यालयले आ-आफ्नै नियममा रहेर काम गर्ने हो, त्यो अनुगमन प्रहरीले गर्दैन, शान्ति सुरक्षाको अवस्थामा कुनै समस्या देखिएको थिएन,’ जिप्रकाका प्रहरी उपरीक्षक पुष्कर कार्कीले भने, ‘मालपोत अगाडि भेटिएका व्यक्तिहरू सामान्य अवस्थामा रहेकाले सोधपुछपछि छाड्यौं ।’

श्रोत: कान्तिपुर

आधुनिक राजधानीको अवधारणा

4highway
‘माल पाएर चाल नपाए’झैँ भएको काठमाडौंलाई विश्वका उत्कृष्ट दस सहरभित्र समावेश गर्ने गरी पूर्वाधार निर्माणलगायतका पहल गर्नुपर्छ

नेपालको वर्तमान राजधानी सहर काठमाडौंलाई अत्याधुनिक सहर बनाउने कुरा समयसमयमा उठ्ने गरेका छन् । वर्तमान अर्थमन्त्रीले बूढानीलकण्ठदेखि खोकनासम्म, थानकोटदेखि धुलिखेलसम्म र रिङरोडभरि मेट्रो रेल सञ्चालन गर्नुपर्ने धारणा अगाडि सारेका छन् । यी र अन्य सम्भाव्य स्थानमा रेलसेवा विस्तार गर्न छुट्टै रेल विभाग गठन गर्नेलगायतका पहल भइरहेका छन् । केही समयपूर्व महाराजगञ्ज, चाबहिल र कलंकी चोकमा चिनियाँ सरकारको सहयोगमा ‘ओभरहेड बि्रज’ निर्माण गरी ट्राफिक व्यवस्थामा सुधार गरिने चर्चा भएको थियो । एकथरीले मन्त्रालयहरू काठमाडौंमा मात्रै नराखी अन्य जिल्लामा राख्न पाए मात्रै पनि काठमाडौं व्यवस्थित हुने राय दिएका छन् । यसै प्रसंगमा राजधानी नै चितवनमा स्थानान्तरण गर्नु वेश हुने राय पनि आइरहेको छ । २०४८ सालको प्रशासन सुधार आयोगको प्रतिवेदनमा उपत्यकाभित्रकै तीन वटै जिल्लाको एकीकृत प्रशासनिक व्यवस्था गर्नेगरी उपत्यकाको छुट्टै आयुक्त (वरिष्ठ प्र.जि.अ. जस्तो) नियुक्ति गर्न सिफारिस भएको हो ।
construction
काठमाडौंलाई आधुनिक सहर निर्माण गर्न हाल असन, इन्द्रचोक जस्ता मुख्य सहर र बस्तीकेन्दि्रत स्थानका पुराना घरहरू भत्काइ ती स्थानमा पचास-साठी तले घरहरू बनाइ हालका घरवालालाई एपार्टमेन्ट दिने योजना अगाडि सार्नुपर्दछ । यसैगरी, बागमती र विष्णुमतीका दुवै किनारामा ठूलाठूला पर्खाल बनाइ पानी जमाउन सके नौका बिहार गर्न सकिन्छ । यसका लागि हालको एक दुई फिटको फोहोर बालुवा लोडर लगाइ हटाउनुपर्छ र एक-दुई फिट सफा बालुवा हाल्नुपर्छ । यसरी दुवै किनारामा पर्खाल लगाएपछि मानिस हिँड्ने-टहलिने क्षेत्र र मोटर गुड्ने फराकिलो बाटो निर्माण गर्न सकिन्छ । बाटो निर्माण गरेर पनि बाँकी रहने जमिन निजी क्षेत्रलाई बिक्री गर्न सकिन्छ वा खुला क्षेत्र छाड्न सकिन्छ । यसो गर्न बागमती र विष्णुमतीको मुहानदेखि पानी फोहोर गर्न नदिने र ढल मिसाउन नदिने व्यवस्था गर्नुपर्छ । झट्ट सुन्दा यो हावादारी गफजस्तो भए पनि एक दिन यो व्यवहारमा रूपान्तरित हुने कल्पना हो ।
काठमाडौंको हनुमानढोका वरिपरिलाई म्युजियमको रूपमा विकास गर्नुपर्छ । यसमा राति ‘लाइट एन्ड साउन्ड’ द्वारा कार्यक्रम सञ्चालन गरी स्वदेशी र विदेशी पर्यटकलाई मनोरञ्जन दिन सकिन्छ । पाटन दरबार स्क्वायरलाई बैंककको गोल्डन टेम्बलजस्तो झलमल्ल पार्नुपर्छ । भक्तपुर दरबार क्षेत्रलाई पनि भव्य रूपमा सिंगारपटार गरी कम्तिमा आधा दिनको भ्रमण गर्ने क्षेत्रका रूपमा विकास गर्नुपर्छ । यसैगरी, विश्वसम्पदाको सूचीमा परेका काठमाडौंभित्रका स्वयम्भू, चाँगुनारायण जस्ता क्षेत्रको विशेष विकास गरेरै नेपालमा पर्यटकको ओइरो लगाउन सकिन्छ । ‘माल पाएर चाल नपाए’झैँ भएको काठमाडौ उपत्यका सहरलाई विश्वका उत्कृष्ट दस सहरभित्र समावेश गर्ने गरी पूर्वाधार निर्माणलगायतका पहल गर्नुपर्छ ।
big
काठमाडौं उपत्यकालाई घेरेर बसेका साना कदका पहाडलाई राम्रो पदयात्राको रूपमा विकास गर्नुपर्छ । सहरबाट ठाउँठाउँका यस्ता पदयात्रा क्षेत्रसम्म पुग्ने केबुलकार निर्माण गर्नुपर्छ । यी पदयात्रा क्षेत्रमा वातावरणलाई असर नपर्ने गरी रिसोर्ट चलाउन सकिन्छ । यसबाट बाह्य र आन्तरिक दुवै पर्यटकलाई आकषिर्त गर्न सकिन्छ । नगरकोटलगायतका स्थानबाट बिहानको सूर्योदय हेर्ने, ठाउँठाउँबाट जुगल हिमाललगायतका साना-ठूला हिमचुचुराहरूको दृश्यावलोकन गराउने, धुलिखेल र यसको आसपासका क्षेत्रबाट पहाड र भन्ज्याङका मनोरम दृश्यहरू देखाइ मानिसको मन र मस्तिष्कलाई खुसी तुल्याउन सकिन्छ । धरहराजस्तै र यसभन्दा अग्ला टावरहरू ठाउँठाउँमा राखी काठमाडौंको दृश्यावलोकन गराउनुपर्छ । काठमाडौं सहरको बीच भागमा १०० तले घर बनाइ सयौं तलामा घुमी रहने रेस्टुराँ सञ्चालनमा ल्याएपछि बल्ल नेपाली युवाले चाहना गरेको काठमाडौं चरितार्थ हुनेछ । यी कल्पना पनि सुन्दा दन्त्यकथाझैँ प्रतीत भएता पनि एक दिन काठमाडौंमा निर्माण भएरै छाड्ने कुरा हुन् । ‘लन्डन आई’ जस्तै ‘काठमाडौं आई’ छिट्टै निर्माण हुने कुरामा पनि म आशावादी छु । यो ठूलो र अग्लो रोटे पिङ जस्तो हुनेछ, जसमा एक फन्को लगाउँदा काठमाडौंका आकाश चुम्दै काठमाडौं सहर धित मरुन्जेल हेर्न पाइनेछ ।

अत्याधुनिक काठमाडौंमा सडक पनि आकाश र पातालमा निर्माण गर्नुपर्नेछ । हालको बाटो भएकै ठाउँमा ठूलाठूला पिलर उठाइ एक तह माथि अर्को मोटर बाटो बनाउनुपर्छ । यी बाटो द्रूत मार्ग हुनेछन् । यस्ता बाटोमा निजी क्षेत्रले लगानी गर्नेछ । यस्तो बाटोमा मोटर गुडाउन तोकिएको रकम तिर्नुपर्नेछ । यी बाटोमा सामान्यतः दुर्घटना नहुने, मानिस हिँड्न निषेध गरिने, तीव्र गतिमा मोटर गुड्ने, ट्राफिक-जाम नहुने, एकोहोरो मार्ग हुने जस्ता विशेषता हुनेछन् । प्रतिगाडी तोकिएको रकम असुली गर्दा १५/२० वर्षमा लगानीकर्ताले आफ्नो रकम सहजै असुली गर्नेछ । यसबाट काठमाडौं आधुनिक सहरमा परिणत हुने, जनताले सेवा पाउने र लगानीकर्ताले नाफा आर्जन गर्ने हुँदा सबै पक्ष लाभको स्थितिमा परिणत हुनेछन् । सिंहदरबारभित्र प्रवेश गर्न ठाउँठाउँबाट भूमिगत मार्ग निर्माण गर्नुपर्छ । हालको सिंहदरबार वरिपरिको बाटोमा खुला छत भएका पर्यटक-नगर बस सञ्चालन गर्नुपर्छ । आन्तरिक र बाह्य पर्यटकहरू गाइडको माध्यमद्वारा नेपालको प्रमुख प्रशासनिक भवन सिंहदरबार, काठमाडौं महानगरपालिका बसेको बाघ दरबार, उपराष्ट्रपति र निर्वाचन आयोग बसेको बहादुर भवन, नारायणहिटी दरबार र राष्ट्रपति कार्यालय रहेको शीतल निवास जस्ता ऐतिहासिक भवनको दृश्यावलोकन र तिनको ऐतिहासिक पक्षबारे जानकारी प्राप्त गरी हषिर्त हुनेछन् । यस्तो बससेवा त आगामी नेपाल भ्रमण वर्ष, २०११ कै उपलक्ष्यमा सञ्चालनमा ल्याउन सकिन्छ ।
bridge
काठमाडौं सहरलाई सिँगारपटार गरी अत्याधुनिक तुल्याएझैँ यहाँ बस्ने बासिन्दाको मन पनि सफा-सुग्घर हुनु जरुरी छ । यसका लागि शिक्षामा विशेष जोड दिने, सभ्यता र संस्कृतिको जगेर्ना गर्ने, अरूप्रतिको आदरभाव वृद्धि गर्ने, आपसी भाइचारा बढाउने र सबैको ओठमा सदैव मुस्कान हुने गरी प्रशिक्षित गर्न आवश्यक पहल गर्नुपर्छ । यस्तो अत्याधुनिक सहरमा प्रायः सबै काम विद्युतीय माध्यमद्वारा स्वचालित रूपमा हुनेछ । एक दिन नेपालीले गर्व गर्न लायक र विदेशीले आश्चर्य मानेर जिब्रो टोक्नुपर्ने गरी हाम्रो मनभित्रको अत्याधुनिक काठमाडौंको सपना साकार हुनेछ । यसका लागि जो जहाँ छौँ, आआफ्नै ठाउँबाट यो सपनालाई व्यवहारमा रूपान्तरित गर्न आजैदेखि पहल गर्नु आवश्यक छ ।

कृष्णहरि बास्कोटा
नयाँ पत्रिका

माओवादीमा दाहाल-भट्टराई अन्तर्विरोध

babu-pra
प्रधानमन्त्री निर्वाचनले एकीकृत माओवादीभित्र अन्तर्विरोध चर्केर गएको छ। बुधबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीका लागि राष्ट्रिय सहमति जुट्न नसकेको विषय मुख्य एजेन्डा बन्ने भएपछि बैठकमा पार्टी नेताबीचको अन्तर्विरोधमा छलफल हुने भएको छ। पार्टीकै सल्लाहमा श्याम शरणसँग भेटः बाबुराम (डा. बाबुराम भट्टराईको अन्तरबार्ताको लागि क्लिक गर्नुस्)

राष्ट्रिय सहमतिबिना जनताको संविधान निर्माण हुन नसक्ने पार्टीको पहिलो नीतिलाई दाहालले कार्यन्वयन नगरेको आरोप उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराई समूहले लगाएको छ। पार्टीले ‘राष्ट्रिय सहमतिको संयुक्त सरकार’ हुनुपर्ने नीति पारित गरे पनि अहिले बहुमतीय खेलमा गएको निष्कर्ष उनीहरूको छ।

पार्टी नेतृत्व पूरै सरकार गठन गर्ने बहुमतीय खेलमा लागेको आरोप लगाउँदै वैद्य-भट्टराई समूहले सहमतीय सरकार गठनका लागि भदौ २ अगावै नयाँ निर्णय लिने प्रस्तावअनुसार अकस्मात केन्द्रीय समितिको बैठक आह्वान गरिएको हो।

‘पार्टीले कुनै कार्यक्रम लिएको छैन। भेला, आन्तरिक प्रशिक्षण केही छैन,’ एक पोलिटब्युरो सदस्यले नागरिकसँग भने- ‘अहिले पार्टी पूरै अराजकतामा गएको छ, आन्तरिक अन्तर्विरोध हल भएका छैनन्। त्यही कारण यो अवस्था आएको हो।’

विकल्प खुला गर्नुपर्छ भन्ने नीतिलाई पहिले अस्वीकार गरेर अध्यक्ष दाहालले नै उम्मेदवार दिँदा अहिलेसम्म सहमति जुट्न नसकेको तर्क वैद्य-भट्टराई समूहको छ। तर, तीन दिनअघिको पदाधिकारी बैठकले पुनः भदौ २ गतेभित्रै सहमतिको पहल गर्ने निष्कर्षसँगै केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।
‘सहमति जुट्ने अवस्था नदेखिए अध्यक्षले उम्मेदवारी फिर्ता लिनुपर्छ,’ अर्का एक सदस्यले भने, ‘जनादेश पाएको पार्टीको हैसियत पाँच/पाँचपटकसम्म निकास दिन नसक्ने सन्देश पार्टीपंक्ति र जनतालाई सह्य छैन।’

सांसद खरिदबिक्री, मन्त्रिपरिषद्को भागबन्डाजस्ता कार्यमा पार्टी फसेकाले तत्काल त्यसबाट मुक्त भएर राष्ट्रिय सहमति जुटाउनुपर्ने वैद्य-भट्टराई समूहको तर्क छ। तर, अहिले दाहाल पक्ष भने उपाध्यक्ष भट्टराईको भारतीय प्रधानमन्त्री मनमोहन सिंहका दूत श्याम शरणसँगको भेटलाई लिएर सार्वजनिक आलोचनामा उत्रिएको छ।

गत साउन ४ को पोलिटब्युरो बैठकपछि माओवादीमा अन्तर्विरोध बढेको हो। बैठकले प्रधानमन्त्रीको उम्मेदवार पार्टी अध्यक्ष दाहाललाई बनाउने निर्णयपछि दाहाल-भट्टराई सम्बन्ध चिसिँदै गएको हो। असार तेस्रो साता सम्पन्न पोलिटब्युरो बैठकले अन्य पार्टीले अध्यक्ष दाहाललाई प्रधानमन्त्रीका रुपमा स्वीकार नगरे त्यसको विकल्प खुला गर्ने निर्णयविपरीत पार्टी गएको उनीहरूको आरोप छ।

वरिष्ठ उपाध्यक्ष वैद्यले सरकारमा नजाने यसअघि नै घोषणा गरिसकेकाले पनि स्वाभाविक रूपमा एकमात्र दाबेदार पार्टी उपाध्यक्ष भट्टराईलाई लिइएको थियो। तर, अध्यक्ष दाहालले समय-समयमा आफ्नो रणनीति परिवर्तन गर्दै अन्ततः आफैँ प्रधानमन्त्री उम्मेदवार बन्ने निधो गरे।
दाहालले भट्टराईको सहयोगविना प्रधानमन्त्री हुँदा अप्ठेरो हुने देखेपछि बाबुराम भट्टराईलाई भेट्न उनकै निवास शान्तिनगर पुगे। भेटमा दाहालले आफूलाई पोलिटब्युरो बैठकमा प्रधानमन्त्रीमा सर्वसम्मत बन्न सहयोग गर्न भट्टराईलाई आग्रह गरेका थिए। जवाफमा भट्टराईले आफूले प्रधानमन्त्रीका लागि मरिहत्ते नगरेको भन्दै दाहाललाई अरू दलको सर्मथन जुट्ने भए आफू सहयोग गर्न तयार भएको जवाफ दिएका थिए।

दाहाललाई पार्टीभित्रैबाट भए आफू नभए एमाले अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री बनाउने भित्री योजनामा रहेको आरोप भट्टराई पक्षले लगाएको थियो। दाहाललाई लागेको आरोप उनैले पुष्टि गरे, जब खनाललाई दुईतिहाइका लागि मत दिने हस्ताक्षरसहित पत्र दिए।
साउनको दोस्रो साता पोलिटब्युरो बैठकमा भट्टराईलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने विषय चर्को रूपमा उठेको थियो। भट्टराईको चर्चा चले पनि बैठकले दुवैको नाममा सर्वसम्मत निर्णय लिन सकेन। त्यसपछि बैठकले प्रधानमन्त्रीको टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिएको थियो।

पदाधिकारी बैठकमा पनि दाहालले प्रधानमन्त्री आफैँ नै हुनुपर्ने मनाशय व्यक्त गरेपछि भट्टराईले उनलाई मौन समर्थन जनाएका थिए। त्यसको केहीबेरमै दाहालले प्रधानमन्त्रीको उम्मेवादारी दिएका थिए। दाहालको उम्मेदवारीलाई भट्टराईलाई रोक्न मात्र दिइएको भट्टराई पक्षले बताएका थिए।

जनयुद्धको सुरुवातदेखि शान्तिप्रक्रियामा आउँदासम्म विवाद र एकता सँगसँगै हुँदै आए पनि दुई नेताबीच दाहाल र भट्टराईको अहिले फेरि विवाद उत्कर्षमा पुगेको हो। त्यसमा अहिले पार्टीभित्रका दार्शनिक मानिने वैद्यसमेत केही मुद्दामा भट्टराईसँग नजिकिँदा दाहाल कमजोर बन्दै गएका छन्। दाहालको सधैँ उपयोगमात्र गर्ने प्रवृत्तिले वैद्य-भट्टराईबीचको सम्बन्ध बिग्रेको स्रोतहरूको दाबी छ।

उनीहरूको विवाद दाहाललाई प्रधानमन्त्री बनाउने भेटवार्ताको सक्रियतामा समेत प्रस्ट झल्कियो। दाहाललाई जिताउन वार्ता तथा छलफलमा चलिरहँदा भट्टराई भने संयुक्त राष्ट्रिय सहमतिको सरकारकै पक्षमा वकालतमा व्यस्थ रहे। बरु उनी दुई रात ककनीमा बिताउन पुगे।
होटल सनसेट भ्यूको गोप्य योजनासमेत भट्टराई पक्षबाटै पत्रकारसम्म पुगेको आरोप स्थायी समिति सदस्य वर्षमान पुनले लगाएका छन्। भट्टराईले साउन दोस्रो साता बेलायती राजदूत एन्ड्र्यु हलसंँगको भेटमा पटक/पटक प्रधानमन्त्रीको चुनावबाट परिणाम ननिस्किए शान्ति र संविधान निर्माणका लागि (मधेसवादी दल, कांग्रेस, एमाले र माओवादी) सहमतिको राष्ट्रिय सरकार बनाउनुपर्ने बताएका थिए।

उजिर मगर:नागरिक न्युज

२.५ लाखको सामान चोरी

विमानस्थलमा लापरबाही
airport_skd1
काठमाडौ, अषाढ १४ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन युवाको सामान चोरी भयो । चार वर्षपछि अमेरिकाबाट स्वदेश फर्किएका प्रमोद झासहित मन्दिरा श्रेष्ठ र ललितपुरका सुगम श्रेष्ठको सामान चोरी भएको हो । यी सबै बोस्टनबाट मस्को हुँदै सिंगापुरसम्म सिगांपुर एयर र सिंगापुरबाट यहाँसम्म सिल्क एयरको एम आई ४१२ बाट आएका थिए । बिहान ११:४५ बजे विमानस्थल उत्रिएका यी यात्रुले १२ बजे आफ्नो सामान ‘क्लेम’ गर्न जादाँ झोला त थियो तर झोलाभित्रको सामान गायब ।

भारतबाट आउने विमान कम्पनीहरू र थाईबाहेक सबैको ग्राउन्ड ह्यान्डलिङको जिम्मा नेपाल वायु सेवा निगमले लिएको छ । आफ्नो बिहेका लागि नेपाल आएका प्रमोद दुई दिनमै जनकपुर जानुपर्नेछ । तर विमानस्थल ‘ब्यागेज क्लेम’ विभागले पनि उनको सामान खोजीबारे के भइरहेको छ भनेर जानकारी लिन दुई सातापछि फोन गर्नुस् भनेर पठाइदियो । ‘तर यो अवधिमा पनि सामान पाइन्छ वा क्षतिपूर्ति पाइन्छ भन्ने ग्यारेन्टी छैन,’ प्रमोदले भने ।

सामान चोरी भएपछि विभागले आफ्नो लोड/अनलोड गर्ने कर्मचारीको कार्यसमय सकिएकाले तत्काल खोजतलास गर्न नसक्ने बतायो । ‘एयरवेजको कर्मचारीलाई पनि भन्यौं, उनीहरूले मतलवै गरेनन्,’ उनले भने, ‘प्रहरी त्यहीँ भएर पनि के गर्ने भन्छन् ?’ भारतलगायत केही मुलुकको आफ्नै ह्यान्डलिङ टोली भए पनि अन्य विमान कम्पनीको सम्पूर्ण जिम्मा लिएको नेपाल वायुसेवा निगमका अधिकारी भने सम्पर्कमा आउन चाहेनन् । घटनाबारे बुझ्न विमानस्थल पुग्दा निगमका कर्मचारीले यसबारे भोलि आउनु भनेर फर्काए । प्रमोदको साढे २ लाख रुपैयाँ बराबरको एउटा मोबाइल, सोनीको डिजिटल क्यामेरा, क्यानोन क्यामेरा, आइपडलगायत चोरी भएको छ । त्यस्तै मन्दिराको झोलाबाट प्रतिवटा ४ सय अमेरिकी डलर पर्ने पाँच घडी र सुगमका दुई घडी र मोबाइल चोरिएका छन् ।

यो घटना नयाँ भने होइन । ‘प्रत्येक दिन दुई/तीन यात्रुको सामान चोरिएकै हुन्छ,’ विमानस्थलका ट्याक्सी चालक बसन सापकोटाले भने, ‘सबैको मिलेमतो छ । थाहा भएर पनि हामीले बोल्न मिल्दैन ।’ उनको यो अभिव्यक्तिलाई विमानस्थलमा खटिएका एक सुरक्षा अधिकारीले समेत स्वीकार गरेका छन् । ‘चोरी हुन्छ,’ उनले थपे, ‘तर यसमा सुरक्षा निकायले के गर्नसक्छ । हामीले बाहिर ड्युटी गर्ने हो । ब्याग खोलेर कसैको सामान चोरी भयो/भएन भनेर हेर्न मिल्दैन ।’ सामान चोरी भएकाले गुनासो दर्ता गराएपछि खोजी गर्ने र प्रमाण फेला परे सम्बन्धितलाई कारबाही गर्न सकिने ती अधिकारीले बताए ।

त्यस्तै घटना हुनासाथ जानकारी पाएको सिल्क एयरले पनि चोरीबारे छानबिन गर्न यो दिन कुनै पहल थालेन । एयरका वित्तीय अधिकृत सरोज खनालले आफ्नो आधिकारिक प्रतिनिधि नभएको भन्दै सोमबार मात्र पुलिस रिपोर्ट बनाउने जानकारी दिए । ‘घटनाबारे तत्काल थाहा भएको थियो,’ उनले भने, ‘भोलि (सोमबार) सिंगापुरस्थित मुख्य कार्यालयलाई जानकारी पठाउनेछौं । उताबाट जस्तो प्रतिक्रिया आउँछ, त्यसैअनुसार कारबाही अगाडि बढाइनेछ ।’
साभार

साझा सवाल गर्दाका दर्जन घटना

narayan
नारायण श्रेष्ठ
कार्यक्रम प्रस्तोता, साझा सवाल, बिबिसी वल्र्ड ट्रस्ट

१ यो तेरो कार्यकर्ता हो ?

गिरिजाप्रसाद कोइरालाको निधनपछि शोकमा डुबेको देश बिस्तारै तंगि्रन थालेको छ । कोइरालाका बारेमा मेरो डायरीमा करिब साढे दुई वर्ष पहिले २३ कात्तिक ०६४, शुक्रबार लक्ष्मीपूजाको मितिमा यस्तो लेखिएको थियो- मलाई थोत्रो कुर्सीमा बस्ने रहर छैन । यो कुर्सी फेर्न पाए शान्ति हुने थियो । कोइरालाले पदलोलुपता नभएको देखाउन त खोजे, तर उनको राजनीतिक विगतले त्यस्तो देखाउँदैन ।

नेता कोइरालाको निधनसँगै मैले सम्झेँ- सर्वसाधारणले भरिएको विराटनगरस्थित कोइरालानिवास । साझा सवालको पहिलो अंकका लागि अन्तर्वार्ता दिँदै गर्दा पाँचौँपटक प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइराला सत्तामोह त्याग्ने तयारीमा रहेको संकेत गर्दै थिए । मधेसको चर्चा भर्खर सुरु भएको थियो । तर, ती बयोवृद्ध नेताले ‘मधेस’ आफूले नचिनेको बताए । मधेसको मुद्दा छिमेकी देशबाट प्रोत्साहित थियो भन्ने कोइरालाको बुझाइ थियो । अन्तर्वार्तामै उनले भनेका थिए, ‘भारतको सहयोग भए तराईको अवस्था एक मिनेटमा ठीक पार्न सक्छु ।’ कोइरालाको त्यो भनाइ अन्तर्वार्ता रेकर्ड भएको केहीबेरमै प्रमुख समाचार बनेर रेडियो र टिभीमा बज्न थाल्यो ।

प्रधानमन्त्रीलाई जनताले सीधै प्रश्न सोध्ने कार्यक्रम त्यो पहिलो थियो । मेरा लागि पनि त्यो एउटा अवसर थियो । कोइराला एकपटकमा एउटा प्रश्नको मात्र जवाफ दिन सक्थे । उमेरका कारण पनि हुन सक्छ, धेरै प्रश्न आए भने उनी अलमलिन्थे । महिला र केटाकेटीका प्रश्नमा उनी विशेष रमाउँथे । फूलसरी चौधरीले गाउँमा अपहरणलगायतका घटना हुने गरेकाले त्यो रोक्न के गर्नुहुन्छ भनेर सोधिन् । कोइरालाले छोरी सुजातातिर हेरेर, ‘तेरो कार्यकर्ता हो ?’ भन्ने संकेत गरे । कोइराला पछाडि बसेकी सुजाता मुस्कुराइन् मात्र ।

करिब २० मिनेट कार्यक्रम रेकर्ड भएपछि उनले असजिलो महसुस गरे । आराम लिन चाहे । त्यसपछि हामीले करिब १२ मिनेट रेकर्ड रोक्यौँ । त्यसबीचमा उनले अक्सिजन लिए । फेरि हटसिटमा बसे र जवाफ दिए । उनका प्रायः जवाफमा संविधानसभा चुनाव नै सबै कुराको समाधान हो भन्ने सार थियो ।

२ प्रचण्डको सुरक्षा

विस्तृत शान्तिसम्झौतामा हस्ताक्षर भएको ठीक एक वर्षपछि मैले प्रचण्डलाई पोखराको होटल गि्रनपिसमा भेटेँ । ६ मंसिर ०६४ को बिहान सुरक्षाका केही घेरालाई पार गरेपछि प्रचण्डसँगको भेट सम्भव भयो । सुरक्षा घेरा पूर्णतः पार्टी लडाकुको थियो । त्यो भेट एकप्रकारको शिष्टाचार थियो । तर, मलाई याद दिलाउने कुरा चै विद्रोही नेताको खानपानको व्यवस्था र कार्यकर्ताको हुल थियो । बाहिर लामो लाइन क्षेत्रीयस्तरका र त्यसभन्दा माथिका कार्यकर्ताको थियो । पल्लोपट्टि टहरोमा मैले पहिले नै चिनेका केही कार्यकर्ता खाना पकाउने काममा थिए । होटल त्यस दिनका लागि पूरै बुक गरिएको रहेछ । आफ्नै कार्यकर्ताको सुरक्षा घेरा, अनि कार्यकर्ताले नै पकाएको खाना । प्रचण्डको सौख त यो पक्कै नहुनुपर्ने । विद्रोही नेताको सुरक्षा सतर्कता हुनु जायज हो । तर, त्यति धेरै सतर्कता मैले अनुमान गरेको थिइनँ ।


३ नेपालको प्वाल परेको मोजा

माधवकुमार नेपालसँग मैले अहिलेसम्म तीनपटक कार्यक्रम तयार पारेँ । पहिलो पार्टी महासचिव भएकै बखत, दोस्रो चुनाव हारे पनि माओवादीको अनुरोधमा संविधानसभा संवैधानिक समितिका प्रमुख भएका वेला र तेस्रो प्रधानमन्त्री भएपछि ।

माधव नेपालसँगको भेटलाई लिएर ९ मंसिर २०६४ मा मेरो डायरीमा यस्तो लेखिएको रहेछ- कालो चिया लिएर म नेपाललाई पर्खिरहेको थिएँ । कोठाको स्वरूप हेर्दा सानोतिनो भेटघाटका लागि उपयोग हुने देखिन्थ्यो । कोठा सामान्य थियो । सँगै जोडिएको

ट्वाइलेटको ढोका खुला थियो, र त्यहाँबाट चर्को गन्ध आइरहेको थियो । भित्तामा केही तस्बिर थिए, देशकै बारेका ती तस्बिर तत्कालीन ‘शाही नेपाल वायुसेवा निगम’ ले उपहार दिएका रहेछन् । गणतन्त्रका लागि त्यत्रो आन्दोलनको नेतृत्व गरेको दलको कार्यालयमा ‘शाही’ शब्द सुहाएजस्तो लागेन मलाई । हिमाल, पहाड र हरियाली दृश्यबाहेक मनमोहन अधिकारीको मात्र तस्बिर थियो । मदन भण्डारीको ‘जबज’ बोकेर हिँडेको पार्टी उनकै तस्बिर चैँ थिएन । करिब दस मिनेटपछि नेपाल आए । र, दलको मिटिङदेखि गिरिजाप्रसाद कोइरालासम्मलाई भेटेको कुरा सुनाए । ती कुरा हामीलाई सुनाउनु सायद आवश्यक थिएन । कुराकानीका क्रममा उनले जुत्ता खोले । नेताज्यूले त प्वाल परेका मोजा पो लगाएका रहेछन् । सोचे उनी पनि आखिर नेपाली नागरिक नै हुन् ।’

narayan-shrestha
४ झन्डै चैट भएको

०६५ चैतको अन्तिम साता प्युठान यात्रामा थियौँ । देशको पश्चिमदेखि यात्रा सुरु गरेर पूर्व पुग्ने योजना थियो । नयाँ संविधानका बारेमा जनमत बुझ्ने र कार्यक्रमको पिआर बढाउने योजना साथ नेपालमा रहेको बिबिसीको टोली नै महेन्द्रनगरदेखिको यात्रामा थियो । प्युठान जान पूर्व-पश्चिम सडक मार्गलाई भालुवाङमा छाडेर उकालो लाग्दा साँझको पाँच बजिसकेको थियो । भालुवाङबाट प्युठानसम्मको झन्डै ७० किमि धुलौटे सडक यात्रा बाँकी थियो । साँझ त्यो रुटमा मोटर नचल्ने रहेछ । त्यसैले सडकमा रातोमाटोमा पानी घोलेर छाडिएको रहेछ । भालुवाङबाट केही किलोमिटर पार गरेपछि रातोमाटोमा पानी घोलिएको चिप्लो घुम्ती पार गर्न खोज्दा बस अगाडि बढ्नुको सट्टा झन् पछि हटयो । साँघुरो बाटोबाट बस खोलामा खस्नै लाग्यो । धन्न बस सहायकले पछाडिको चक्कामा ढुंगाको ओत दिन भ्याएछन्, र रोकियो ।

दुर्घटना टरेकोमा सबैले लामो सास फेर्‍यौँ ।

५ कोसी बगरमा मरुभूमिको रात

बिबिसी यात्राकै क्रममा महेन्द्रनगरबाट कोसीसम्म आइपुग्दा ०६६ को नयाँवर्ष सुरु भइसकेको थियो । कोसी नदीले काटेको सडकमा बालुवा र ग्य्राबेलको मात्रै भए पनि मोटर गुड्न सक्ने ट्रयाक तयार भएको थियो । कोसी ब्यारेज तरेर अघि बढ्दा त्यो ठाउँ बालुवाको मरुभूमि जस्तो देखिन्थ्यो । जताततै बालुवामात्रै । बालुवाको बीचमा कतै-कतै मानिस हिँडिरहेका देखिन्थे । देशभित्र त्यस्तो मरुभूमि देखियो भन्दै साथीहरू फोटो खिच्न थाले । केहीबेर अघिसम्म पश्चिममा देखिएको कालो बादल एक्कासि मडारिएर आयो । बादलभन्दा पहिले हुरीको मुस्लो पस्यो । हुरीले बालुवा उडाएर ल्यायो । नेपाली सेनाका सुमन खरेलको चस्मा उडायो । मान्छे नै उड्नेगरी बतास आएपछि बस पनि रोकियो, त्यसपछि केहीबेर अन्धकार छायो । रातको जस्तै अन्धकार भयो । हावाको जोडमा मोटर लच्किन थाल्यो र छतको एउटा भाग उडाएर लग्यो । अब बसभित्रै हुरी र पानी छिर्न थाल्यो । सबै त्रसित भयौँ, कतै बस नै पल्टाइदेला भनेर । बस बाहिर निस्कन त झनै मिल्दैन । मान्छे उडाउने हावा चलिरहेको छ ।

करिब २० मिनेटपछि हावा र पानी बन्द भयो । बसभित्र पनि एक-अर्कालाई समातेर र छाता ओढेर कोसी बगरमा बाँचियो । बाहिर निस्किएपछि एकजना साथीले भन्यो, ‘मैले नसमातेको भए बस पल्टिन्थ्यो ।’ बिचरा ऊ आफै भने पानी र हुरीले चुटेर रुझेको बिरालो जस्तो लगलग काँपिरहेको थियो ।

६ जातीय राज्यको सन्त्रास

इटहरी र त्यहाँबाट इलामसम्मको यात्रा थुप्रैपटक गरेँ । तर, ०६५ चैतको पहिलो साता पाँचथरको फिदिम पुग्दा जातीय राजनीतिको ताप पहिलोपटक अनुभव गरेँ । पहिचानको राजनीतिको उग्र रूप देखेँ । पल्लोकिरात लिम्बूवान राष्ट्रिय मञ्चको नाममा नेपाललाई छिमेकी राज्यको दर्जामा सम्झौता गर्न अपिलसहितको पर्चा फिदिम बजारभरि छरिएका थिए । ‘लिम्बूवानविरुद्धमा बोल्ने अधिकार कसैलाई छैन । जसले बोल्छ उसलाई यमलोक पुग्नुपर्नेछ ।’ पर्चामा लिम्बूवानलाई स्वतन्त्र राज्य बनाउने उल्लेख थियो । संघीय लिम्बूवान राज्यपरिषद्को नाममा बजारमा अर्को पर्चा पनि थियो । ती पर्चामा १८१४ मा तत्कालीन राजा पृथ्वीनारायण शाहले लिम्बूवानसँग गरेको सम्झौता राजतन्त्र समाप्त भएकाले पुनव्र्याख्या हुनुपर्ने माग थियो । त्यसको लुकको अर्थ पुरानो किपटप्रथा लिम्बूको हातमा आउनुपर्छ भन्ने थियो । सर्वसाधारण लिम्बूमा पनि त्यही बुझाइ थियो- अब त्यहाँको जमिनको हालिमुहाली लिम्बूले नै गर्नेछन् । त्यहाँ सानो आमसभा भयो म पुगेको भोलिपल्ट । त्यस सभामा मैले पहिलोपटक सुनेँ ‘बाहुनको नाक काटिन्छ, आलो रगत चाटिन्छ’ भन्ने नारा ।

साँझ पाँचथर टाइम्सका सम्पादक प्रेम ओझासँग भेट भयो । त्यहाँका बाहुन-क्षेत्री समुदायका सदस्यको चिन्ता उनले सुनाए । ती समुदायका मानिस मुख खोल्न सक्ने अवस्थामा थिएनन् । नजानिँदो भयमा दिन बितिरहेको थियो ।

पाँचथरको त्यो अवस्था देशको सम्भावित खतराको संकेतजस्तो मलाई लागेको थियो । केही दिनपछि इलाम र इटहरीमा पनि मैले त्यस्तै अभिव्यक्ति सुनेँ । त्यही अभिव्यक्ति फेरि सुन्दा झन् चिन्ता लाग्यो । इटहरीको एउटा कार्यक्रममा इटहरी क्षेत्र मधेस राज्यभित्र हुनुपर्छ भन्ने मधेसी सहभागीको विरोधमा सम्भवतः जातीय राज्य चाहिन्छ भनेर तर्क राख्ने अज्ञात सहभागीले ढुंगा प्रहार गरे । गलत ठाउँमा मार परेकाले कसैलाई चोट लागेन । तर, त्यो संकेत गम्भीर थियो । त्यसअघि इलाममा केही तन्नेरी र स्कुले ठिटाले जिप रिजर्भ गरेर जातीय राज्य माग गर्दै बजार बन्द गराउँदै हिँडेको पनि देखियो ।

भुसको आगोजस्तै फैलँदै गरेको जातीय राज्य मागको नारा राज्य पुनर्संरचना हुँदा कसरी समाधान हुन्छ होला म पर्खिरहेको छु ।

७ बन्दको यात्रा

६ चैत ०६५ हामी इलाममा बिहानको खाना खाएर फर्किँदै थियौँ । स्ववियु चुनावमा समानुपातिक चुनावी प्रणाली लागू गर्नुपर्ने भन्दै जातीय समूहनिकट विद्यार्थीले पूर्व बन्द गरेका थिए । हामीलाई पनि त्यही दिन विराटनगर र्फकनु थियो । बिबिसीको नामलाई प्रदर्शनकारीले पक्कै पत्याउलान् भनेर परेको बाटैमा बेहोर्ने सुरमा अघि लागियो । चारआलीसम्म ठीकै थियो । बाटो खाली थियो । गाडीको गति तेज थियो । धुलाबारी चोक आइपुगेपछि चोकमा मानिसको हुल भेटियो । किन त्यस्तो हुल लागेको थाहा पाउन सकेनौँ । बिहान इलाममा तन्नेरीहरू टाउकोमा रातो रुमाल बाँधेर र्‍यालीमा थिए । विवेकभन्दा पनि आवेशमा कुदिरहेका ती युवाहरू भन्दै थिए, ‘बाहुनको चुच्चो नाक काटिन्छ, आलो रगत चाटिन्छ ।’ जातीय नाराको पराकाष्टा थियो त्यो ।

धुलाबारी चोकनेर पुगेपछि एउटा केटोले सडकबीचबाट हात उठायो । बस रोक्नुपर्ने उसको संकेत थियो । स्थानीय रुटमा चल्ने माइक्रोबस भाडामा लिएकाले हामी ढुक्क थियौँ गुरुजीप्रति । चिनेकै होलान् भन्ने हामीलाई लागेको थियो । तर, परिस्थिति उल्टो भयो । अघिल्लो लाइनमा उभिएका अर्का ठिटोले लामो घोचो बजारे । घोचो अगाडिको हुटमा छोएर भुइँमा बजारियो । सिसा फुट्न पाएन । यसरी रोकिन नपाउँदै अर्का तन्नेरी गुरुजीको घाँटी समात्न आइपुगे । त्यसले गुरुजीलाई एक चड्कन हान्न भ्याए । स्थिति एकछिनमा डरलाग्दो भयो ।

पछि थाहा भयो, स्ववियु चुनावमा समानुपातिक हुनुपर्ने मागसहितको आन्दोलनमा धुलाबारी क्याम्पसका विद्यार्थी मनिल तामाङको मृत्यु भएको रहेछ । र, आक्रोशित विद्यार्थीले सडक बन्द गरेका रहेछन् । त्यो चोकमा सुरक्षाकर्मीको नामोनिसाना थिएन । तैपनि थोरै मात्र तल-माथि परेको भए तन्नेरीहरूको हुलले आगो लगाउन पनि सक्थे भन्ने सोच्दा मन अहिले पनि चिसो भएर आउँछ  ।

८ महिलाको स्वरुप

गतसाल मार्चमा अन्तर्राष्ट्रिय महिला दिवसका दिन म सुदूरपश्चिम दार्चुला पुगेको थिएँ । राजधानीदेखि निकै टाढा भएकाले त्यहाँको खबर प्रायः आउँदैन । त्यस दिन मैले दुईवटा अनौठा घटना देखेँ । खलंगा बजारमा सौका समुदायको बाक्लो बस्ती छ । दार्चुला जिल्ला उत्तरपट्टि ब्यासी क्षेत्रमा सौका समुदायको बसोबास छ । यो समुदायको एउटा ठूलो हिस्सा भारततर्फ पनि बसोबास गर्छन् । डोरबहादुर विष्टदेखि हर्क गुरुङसम्मका समाजशास्त्रीका पुस्तकमा ती समुदाय प्रकृतिपूजक हुन् भनेर उल्लेख छ । उनीहरूको धर्म भनेको काठमा मस्टालाई पूजा गर्नु हो । तर, त्यो (महिला दिवसका दिन) दिन त्यहाँ सौका समुदायका महिला ऐतिहासिक ग्रन्थमा उल्लेख भएअनुसारको परिधानमा झाँकीसहित उपस्थित थिए । तरवार र ढाल लिएर वीर योद्धाको जस्तो पहिरन लगाएका थिए । त्यस्तो पहिरनमा महिला पनि आक्रामकजस्ता देखिन्थे । महिलालाई शक्तिको प्रतीक मात्र मान्ने प्रचलनमा त्यसको प्रतिविम्ब नै देख्न पाउँदा मलाई रमाइलो लाग्यो । त्यसै दिन साँझा खलंगा बजारमा कुनै एउटा परिवारमा बिहेभोज छ भन्ने खबर साथीले सुनायो । पछि थाहा भयो त्यस दिन एउटै बेहुलाको दुईवटी बेहुली भित्र्याइने कार्यक्रम रहेछ । घरमा बाबुआमाले मगनी गरेको अर्की केटी पनि रहेछ । दुवै बेहुली एकै दिन भित्र्याउने तयारी भइरहेको थियो । त्यहाँको सामाजिक चलनअनुसार त्यो सम्भव छ रे । म भने अचम्ममा परेको थिएँ । बिहान नारीको वास्तविक शक्तिको स्वरूप देखेको थिएँ, साँझ त्यही नारी अबलाका रूपमा देखेँ ।

९ चर्पीसँग रिस

रारालाई अप्सरासँग तुलना गर्ने धेरै छन् । राजा महेन्द्रले त सुन्दर कविता पनि सिर्जना गरे राराकै बारेमा । राराको नीलो सुन्दरतामा जोकोही रमाउन सक्छन् । तर, राराभन्दा केही कोश तलको दुर्दशा भने राजा महेन्द्रले आठ घन्टा लगाएर ताल वरिपरि घुम्दाको वेलादेखि अहिलेसम्म पनि उस्तै छ । ०६५ माघताका मुगु सदरमुकाम गमगढीबाट चाल्सा जाँदै थिएँ । राराताल रहेको ठाउँबाट तीन-चार घन्टा हिँडेपछि गमगढी पुगिन्छ । गमगढीबाट केही तल हिँडेपछि कार्कीबाडा आइपुग्छ । कर्णालीमा गाउँलाई बाडा भनिन्छ । कार्कीबाडा आइपुग्न लाग्यो भन्ने संकेत मानिसको दिशाले दियो । जति-जति गाउँ नजिक आइपुग्यो, त्यति बाक्लो फोहोर । बाटो पूरै ढाकिएको थियो । दुर्गन्धले सास फेर्न कठिन भयो । टेक्ने ठाउँ पाउनै मुस्किल । मान्छेको दिसा पनि धेरै भएपछि कुकुरले पनि खाइसक्दो रहेनछ । बारी बाँझै राखे पनि खाद्यको चामलले रक्सीसमेत बनाउन पुग्ने त्यहाँ गैरसरकारी संस्थाले बनाइदिएको ट्वाइलेट भने कोदोको नल राख्न प्रयोग भएको थियो । लाग्यो- मानिसलाई गैरसरकारी संस्थाले परनिर्भरता बढाएको रिस छ । त्यसैले चर्पी प्रयोग गर्दैनन् उनीहरू ।

१० मध्यरातमा सिमाना क्रस

०६५ चैतको कुनै दिन हुनुपर्छ । पूर्वको कुनै ठाउँमा कार्यक्रम सकेर हामी विराटनगर बास बसेका थियौँ । साँझ लोडसेडिङमा बत्ती निभेपछि होटल पुगेकाले कुन होटल र कहाँनेर भन्ने मेसो पाएनौँ । साँझको खाना होटलबाहिरै खाने भनेर बाहिर निस्क्यौँ । अन्धकारमा केहीबेर हिँडेपछि उज्यालो ठाउँ पुगियो । त्यही एउटा होटलमा खाना खाइसक्दा रातिको १० बजिसकेको हुनुपर्छ । बाहिर सडक सुनसान थियो । दिनभरिको थकाइ र सहकर्मीको गफमा समय कति भयो ख्याल भएन । खाना खाएर होटलबाहिर निस्कँदा बत्ती आइसकेको रहेछ । पान पसलमा मीठा पान खाएर रातको खुला सडकमा गपिदै अगाडि बढियो । कहाँबाट निस्क्यौं कसैलाई याद भएन । गफैगफमा करिब ३० मिनेट हिँडेपछि एक्कासि पुलिसको चर्को आवाज सुनियो । सबै एकछिन स्थिर भयौँ । ‘कहाँ जान लागेको ?’ पुलिसले सोध्यो । तिनीहरू नेपाली पुलिस थिए । हामी होटल जान लागेको बतायौँ । अगाडि त नेपाल-भारत सीमा जोगबनीको बोर्डर पो रहेछ । रातको वेला सीमा नाघ्न लागेको सुरक्षाकर्मीले हल्ट गरेको रहेछ । होटल भुलेको बताएपछि पुलिसले आफ्नै गाडीमा हालेर हामीलाई होटलसम्म लगिदियो । होटलमा पुगेपछि सम्झेँ- कस्तो सिमाना राति रक्सिएर भुलमा पनि सजिलै पार गर्न सकिने ।

११ पुलिसको मान्छेलाई सिट नदिँदा विशेष सुरक्षा योजना लागू

०६६ को माघ महिना । माओवादीका अप्रमाणित लडाकुको शिविर छाड्ने क्रम धमाधम चलिरहेको थियो । शिविर छाड्न लागेका अप्रमाणित लडाकुको आफ्नै भनाइ कार्यक्रममा समेट्न हामी माओवादी सेनाको पाँचौँ शिविर रहेको रोल्पाको दहवनबाट कर्याक्रम तयार पारेर पर्कँदै थियौँ । दहवनबाट घोराहीसम्म करिब ३५ किमि कच्ची बाटो र त्यसपछि नेपालगन्जतिरको सडक यात्रा त्यति सजिलो थिएन । सबै थाकेका थियौँ । कार्यक्रममा भाग लिएर हामीसँग फर्किरहेका एमाले सभासद् तथा सेना समायोजन प्राविधिक समितिका सदस्य पूर्वसहायकरथी गोपालसिं बोहरा पनि थिए । नेपालगन्जनजिक शमशेरगन्ज आइपुगेपछि गृहमन्त्रीको विशेष सुरक्षा योजनाअनुसारको सशस्त्र प्रहरीले चेकिङ गरिरहेको थियो । केहीबेरको लाइनपछि हाम्रो पालो आयो । सशस्त्रको एकजना जवान गाडीभित्र पसे । पछाडिसम्म पुगेर के-के सामान छ भन्दै फर्किए । हामी एकजना सहकर्मीलाई बाटोमा पुलिस चेकिङले संकटकालको झझल्को दिएछ र फोटो खिचे । ती जवान बाहिर निस्केपछि एकजना महिला लिएर फेरि भित्र पसे । उनले ती महिलाका लागि नेपालगन्जसम्म लिफ्ट मागे । भाडामा लिएको गाडी, बाटोमा केही भयो भने बिमादेखि कतिपय कुरामा झन्झट हुने सम्भावनाले आफ्नै टिमबाहेकलाई नचढाउने चलनअनुसार अर्को बसमा लिफ्ट खोज्न ती जवानलाई सल्लाह दियौँ । सायद त्यो कुरा जवानलाई मन परेन । ओर्लिएको केहीबेरमा अर्का जवान फेरि आयो । त्यसपटक चैँ फोटो खिच्ने को हो ? भन्दै निहुँ खोज्ने तयारी गर्‍यो । तस्बिर लिनुको सामान्य घटना थियो । बसभित्र खिचिएको तस्बिरमा सुरक्षा संवेदनशीलता जोडिनुपर्ने कारण थिएन । हाम्रो मोटरलाई साइडमा राखियो । फोटो डिलिट गर्नुपर्ने र माथिको आदेश नभई जान नपाउने बताइयो । नेपालगन्जबाट काठमाडौंको फ्लाइट छुट्न एक घन्टा मात्र बाँकी थियो । गोपालसिं बोहराले आफू सभासद् भएको र सुरक्षाको हिसाबले संवेदनशील कुनै तस्बिर नखिचिएकाले बाटो छाडिदिन आग्रह गरे । बोहराको परिचय-पत्रलाई त ती सुरक्षाकर्मीले कुनै स्कुले विद्यार्थीको कार्ड जस्तो ठानेछन् । केही वास्ता गरेनन् । हामी सबैलाई भित्र बोलाइयो । पुलिसको निगरानीमा बसबाट ओर्लेर जाँदै गर्दा एकजना साथीले राजधानी फोन गरे । सशस्त्रकै कोही ठूलै मान्छे चिनेका रहेछन् । ती ठूलो मान्छेसँग हाम्रो अवस्था बताएपछि तिनले डयुटीमा खटिएका जवानसँग पनि कुरा गरे । सायद ती जवानले हल्का गाली पनि पाएको हुनुपर्छ, बित्थामा अरूलाई दुःख दिएकोमा । त्यसपछि उनले बोहरालाई सलाम गरे र हामीलाई जान दिइयो । ती साथीले राजधानीको ठूलो मान्छे नचिनेको भए हामीले त्यस दिनको फ्लाइट त छुटाउनैपथ्र्यो, पुलिसको दुई-चार लात पनि खान पथ्र्यो होला ।

१२ झरीको पानीमा साझा सवाल

खाँदबारी संखुवासभा २०६६ असार तेस्रो साता । वर्षेझरी सकिएको थिएन । तुम्लिङटारको रातोमाटो चप्पलमा बोकेर खाँदबारी पुग्दा साँझको झुल्केघाम पारि भोजपुरपट्टि दिङ्लाको डाँडाबाट ओझेल परिसकेको थियो । रुद्राक्ष व्यापारको चहल-पहल थिएन । तर, दाना बेचेर कमाएको पैसाले अधिकांश मानिस धनी भएका छन् भन्ने सजिलै बुझ्न सकिन्थ्यो । खाँदबारीका पसलमा चामल अभाव थियो । तर, बियरको स्टक प्रशस्त थियो । प्रत्येक होटलको अगाडि बियरको खाली बोतलको रास देख्न पाइन्थ्यो । सम्पन्नताको नयाँखाले परिवेश देखिरहेको थिएँ देशभित्रै ।

राति बेस्सरी पानी पर्‍यो । कर्कटपाताको छानामा ठोक्किएको पानीको धाराले सँगैका साथीको आवाज सुन्न पनि मुस्किल पथ्र्यो । स्थानीय उत्पादन ‘सुरुवा’ को तापमा झयालबाट आएको बाछिटाले असारको गर्मीलाई ओसिलो पारेको थियो । त्यसको भोलिपल्ट कार्यक्रम रेकर्ड गर्नु थियो । रातभरिको झरीले केही चिन्तित पार्‍यो, कस्तो होला भोलिको कार्यक्रम ।

बिहान बादलको पहाडबाट केहीबेर घाम देखियो । आकाश खुला भएर आयो । कुहिरो बिस्तारै फाट्न थाल्यो । खाँदबारी बजारको माथिल्लो छेडमा हिमाली स्कुलको अग्लो डाँडामा कार्यक्रम तयार पार्ने साथीहरूले निधो गरे । कुहिरो फाटेको वेला अरुण नदी नागबेलीजस्तो देखिन्थ्यो । अरुणको बायाँपट्टि तुम्लिङटार लमतन्न भएर बसेको थियो । पारि भोजपुरको दिङ्ला र देउराली पातलो कुहिरोको छायामा हराएको थियो । करिब १५०० मिटरको स्कुल डाँडामा कार्यक्रम रेकर्ड सुरु भयो । साहित्यकार आहुति, कांग्रेस नेता मनमोहन भट्टराई र एमालेकी सभासद् भगवती चौधरी थिए- अन्तर्वार्ताको हट सिनमा । आरक्षणको मुद्दा थियो छलफलको विषय । पहिलो खण्ड सकियो । दोस्रो खण्ड सुरु भयो ।

उत्तरपट्टि मकालु हिमालबाट बादलको आँधी बिस्तारै स्कुल डाँडातिर बग्न थाल्यो । एक्तेनमा सिमसिम पानी पर्‍यो । साथीहरू बिजुलीबाट चल्ने सामान जोगाउन छाता ओढाउन थाले । क्यामेरा चिनियाँ छाताले छोपियो । केही सामानलाई प्लास्टिकले जोगाइयो । केहीबेरपछि पानी हटयो । कार्यक्रम फेरि सुरु भयो । करिब दस मिनेटपछि फेरि पानी पर्‍यो । रेकर्ड रोकियो । फेरि सुरु भयो । तेस्रोपटक सानोतिनो भल बग्नेगरी पानी पर्‍यो । पानीबाट सामान जोगाउन मुस्किल होला जस्तो भयो । सहभागी करिब ८० जना थिए । केही छातामुनि ओत लागे । कोही अलि परको सानो स्कुल भवनको पालीमा ओत लागे । लोकेसनको लोभमा खुला ठाउँमा कार्यक्रम तयार पार्ने जोखिम मोल्दा कार्यक्रम नै नबन्ने हो कि भन्ने चिन्ता लाग्यो । करिब १० मिनेट बाक्लो पानी परेपछि रोकियो । र, कार्यक्रम पुनः सुरु भयो ।

चौथोपटक पानी पर्नुअघि यसपटक चै हामीले कार्यक्रम सक्यौँ । हतारै भए पनि काम फत्ते गर्न पाएकोमा खुसी लाग्यो ।

हिलो बाटोले कुनै मोटर नपाएपछि करिब चार घन्टा लगाएर भरियाको सहयोगमा सबै सामान तल तुम्लिङटार ओराल्नुपरेको थियो । फर्किँदा भरतमोहन भट्टराई भन्दै थिए, ‘पोलिटिकल एलिटहरू शासन गर्नमात्र चाहन्छन् । त्यसैले नयाँ काम गरेर सुधार्ने योजना उनीहरूमा हुँदैन ।’ उनको कुरामा भुल्दा मचैँ रातोमाटोमा परेर चिप्लिएको थिएँ ।
स्रोत:

कहाँ-कहाँ बिहे गरेछन् कोइरालाले ?

koirala pariwar

काठमाडौं, १ भदौ/ नेपालको सबैभन्दा पुरानो राजनीतिक घराना कोइराला परिवारको अन्तर्राष्ट्रिय पहिचान जति बलियो छ, वैवाहिक सम्बन्ध पनि उत्तिकै फराकिलो छ । कोइराला परिवारका सदस्यले छिमेकी भारत र पाकिस्तानदेखि युरोपसम्म बिहे गरेका छन् । गिरिजाप्रसादपुत्री सुजाताले जर्मन नागरिकसँग बिहे गरेको र बिपीकी नातिनी मनीषाले पनि विदेशीहरूसँग नै ‘अफेयर’ चलाएको तथ्य नेपाली समाजमा चर्चामा छ । तर, स्वयं गिरिजाप्रसाद, उनका दाजु केशवप्रसाद र तारणीप्रसादले पनि विदेशीलाई नै बिहे गरेका हुन् । बिपीका छोराहरू प्रकाश, श्रीहर्ष र शशांकका श्रीमती पनि नेपाली होइनन् ।

गिरिजाप्रसादका बाबु कृष्णप्रसादले पहिलो बिहे भोजपुरमा गरेका थिए । तर, गर्भवती भएको समयमै पहिली श्रीमतीको निधन भएपछि कृष्णप्रसादले धादिङकी मोहनकुमारीसँग दोस्रो बिहे गरेका हुन् ।

कृष्णप्रसादले तेस्रो बिहे काठमाडौं बालाजुकी दिव्यासँग गरेका हुन् । मोहनकुमारीका सन्तानका रूपमा मातृकाप्रसाद, नलिनी, इन्दिरा (शैलजाकी आमा) र शौभाग्यसुन्दरी जन्मिएकी हुन् । मातृकाले सप्तरीका पोखरेलकी छोरी मञ्जुसँग विवाह गरेका हुन् ।

मोहनकुमारीका छोरीहरू नलिनीको कालीप्रसाद उपाध्यायसँग, इन्दिराको डा. पिनायकी आचार्य र शौभाग्यसुन्दरीको भैरव अर्यालसँग विवाह भएको हो । मातृकाका छोरा विमल, कमल, डा. अजय, विजय, सञ्जय हुन् । कमल एमालेका नेता हुन् भने अरू राजनीतिबाहिरै छन् ।

कृष्णप्रसादकी तेस्री तथा कान्छी श्रीमती दिव्याको कोखबाट जन्मिए विश्वेश्वर, केशवप्रसाद, गिरिजाप्रसाद, हरिप्रसाद, तारणीप्रसाद र विजयालक्ष्मी ।

बिपीले तौलिहवाका दाहालकी छोरी सुशीलासँग विवाह गरेका हुन् । सुशीलालाई कोइराला परिवारले मात्र होइन, समस्त कांग्रेसजनले आमा भनेर बोलाउँथे ।

बिपीका तीनवटै छोराको बिहे विदेशी केटीसँग भएको हो, त्यो पनि लभ परेर । कांग्रेसका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका बिपीका जेठा छोरा प्रकाशले काकी नोना कोइराला (केशवकी श्रीमती) का दाइकी छोरी सुष्मासँग बिहे गरेका हुन् । नोना र सुष्मा दुवै भारतीय हुन् । प्रकाश र सुष्माको जोडीले छोरी मनीषा र छोरा सिद्धार्थ जन्माएको छ ।

त्यस्तै बिपीकै पुत्र श्रीहर्षले महाराष्ट्र बम्बैकी रुचिराकासँग बिहे गरेका छन् । उनका पनि एक छोरा र एक छोरी छन् ।

कांग्रेसका वर्तमान केन्द्रीय सदस्यसमेत रहेका बिपीपुत्र शशांकले बिहे गरे सुपात्रासँग । नयाँदिल्ली घर भई थाइल्यान्डमा बस्दै आएकी सुपात्रासँग शशांकको बिहे काठमाडौंमा भएको हो । शशांककी एक मात्र छोरी छिन् ।

‘बिपीका तीनै छोराले लभम्यारिज गरे,’ कांग्रेस सभासद् पुरुषोत्तम बस्नेतले भने, ‘उनीहरूले विदेशीसँग बिहे गरे पनि समझदारी निकै राम्रो छ ।’

बिपीपुत्री चेतना भने कमल दीक्षित

(साहित्यकार) का भतिजासँग विवाह गरी अमेरिकामा बस्दै आएकी छिन् ।

केशव र नोनाका छोरा निरञ्जनले काठमाडौं धोबीधाराकी सन्तोषी पाठकसँग विवाह गरेका हुन् । अमेरिकामा बस्दै आएकी सन्तोषीको नेपाल र्फकंदा जहाज दुर्घटनामा निधन भएको हो । उनका दुई छोरा छन् ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका शेखरले विराटनगरकी पुनमसँग मागीबिहे गरेका हुन् । यस जोडीको एक मात्र सन्तान छोरी छिन् । तारणीप्रसादले पनि बनारसकी रोसासँग बिहे गरेका हुन् । उनका एक छोरा एक छोरी छन् । छोरा ज्योतिले काठमाडौं, बौद्धकी इन्दिरा बस्नेतसँग बिहे गरेका हुन् । उनीहरूका दुई छोरी छन् ।

तारणीकी छोरी कल्पनाले लक्ष्मण बस्नेतसँग विवाह गरेकी हुन् । बस्नेत कांग्रेसको मजदुर संगठनका नेता छन् भने कल्पनाको क्यान्सरबाट निधन भइसकेको छ ।

गिरिजाप्रसादले पनि भारत, बनारसमै बिहे गरेका हुन् । उनले बाबुआमाको असहमतिबीच पनि सुष्मा उपाध्यायसँग बिहे गरेका हुन् । यो गिरिजाप्रसादको पहिलो बिहे हो भने सुष्माको दोस्रो । सुष्माले अघिल्लो श्रीमान्बाट जन्माएकी सुरेशलाई गिरिजाप्रसादले आफ्नै नामबाट नागरिकता दिएका छन् । सुरेश काठमाडौंमा छपाइ मेसिन चलाउँछन् भने गिरिजाप्रसाद र सुष्माकी छोरी सुजाता देशकी परराष्ट्रमन्त्री छिन् । सुरेशले विराटनगरकै भानु थापासँग बिहे गरेका हुन् । उनका दुई छोरा छन् । सुजाताले जर्मन नागरिक नोवदसँग बिहे गरेकी हुन् । यस जोडीको एक छोरा र एक छोरी छन् । सुजातापुत्रीको बिहे बंगलादेशमा भएको छ ।

गिरिजाप्रसादका भाइ हरिप्रसादको सानै उमेरमा निधन भएको हो । राणाविरोधी आन्दोलनको दौरानमा बाबु कृष्णप्रसाद इजरायल भएकै वेला छोरा हरिको निधन भएको कांग्रेस नेता पुरुषोत्तम बस्नेतले बताए ।

गिरिजाप्रसादकी बहिनी दिव्याकी छोरीले पाकिस्तानी केटासँग बिहे गरेकी थिइन् । उनले नेपाली दूतावासमा काम गर्ने पाकिस्तानी नागरिकसँग विवाह गरेकी हुन् । २००७ साल र त्यसपछिको आन्दोलनमा हतियार ओसारपसार गर्न उनले मद्दत गरेको बस्नेतले बताए ।

बालकृष्ण अधिकारी
श्रोत: नयाँ पत्रिका