
नारायण श्रेष्ठ
कार्यक्रम प्रस्तोता, साझा सवाल, बिबिसी वल्र्ड ट्रस्ट
१ यो तेरो कार्यकर्ता हो ?
गिरिजाप्रसाद कोइरालाको निधनपछि शोकमा डुबेको देश बिस्तारै तंगि्रन थालेको छ । कोइरालाका बारेमा मेरो डायरीमा करिब साढे दुई वर्ष पहिले २३ कात्तिक ०६४, शुक्रबार लक्ष्मीपूजाको मितिमा यस्तो लेखिएको थियो- मलाई थोत्रो कुर्सीमा बस्ने रहर छैन । यो कुर्सी फेर्न पाए शान्ति हुने थियो । कोइरालाले पदलोलुपता नभएको देखाउन त खोजे, तर उनको राजनीतिक विगतले त्यस्तो देखाउँदैन ।
नेता कोइरालाको निधनसँगै मैले सम्झेँ- सर्वसाधारणले भरिएको विराटनगरस्थित कोइरालानिवास । साझा सवालको पहिलो अंकका लागि अन्तर्वार्ता दिँदै गर्दा पाँचौँपटक प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइराला सत्तामोह त्याग्ने तयारीमा रहेको संकेत गर्दै थिए । मधेसको चर्चा भर्खर सुरु भएको थियो । तर, ती बयोवृद्ध नेताले ‘मधेस’ आफूले नचिनेको बताए । मधेसको मुद्दा छिमेकी देशबाट प्रोत्साहित थियो भन्ने कोइरालाको बुझाइ थियो । अन्तर्वार्तामै उनले भनेका थिए, ‘भारतको सहयोग भए तराईको अवस्था एक मिनेटमा ठीक पार्न सक्छु ।’ कोइरालाको त्यो भनाइ अन्तर्वार्ता रेकर्ड भएको केहीबेरमै प्रमुख समाचार बनेर रेडियो र टिभीमा बज्न थाल्यो ।
प्रधानमन्त्रीलाई जनताले सीधै प्रश्न सोध्ने कार्यक्रम त्यो पहिलो थियो । मेरा लागि पनि त्यो एउटा अवसर थियो । कोइराला एकपटकमा एउटा प्रश्नको मात्र जवाफ दिन सक्थे । उमेरका कारण पनि हुन सक्छ, धेरै प्रश्न आए भने उनी अलमलिन्थे । महिला र केटाकेटीका प्रश्नमा उनी विशेष रमाउँथे । फूलसरी चौधरीले गाउँमा अपहरणलगायतका घटना हुने गरेकाले त्यो रोक्न के गर्नुहुन्छ भनेर सोधिन् । कोइरालाले छोरी सुजातातिर हेरेर, ‘तेरो कार्यकर्ता हो ?’ भन्ने संकेत गरे । कोइराला पछाडि बसेकी सुजाता मुस्कुराइन् मात्र ।
करिब २० मिनेट कार्यक्रम रेकर्ड भएपछि उनले असजिलो महसुस गरे । आराम लिन चाहे । त्यसपछि हामीले करिब १२ मिनेट रेकर्ड रोक्यौँ । त्यसबीचमा उनले अक्सिजन लिए । फेरि हटसिटमा बसे र जवाफ दिए । उनका प्रायः जवाफमा संविधानसभा चुनाव नै सबै कुराको समाधान हो भन्ने सार थियो ।
२ प्रचण्डको सुरक्षा
विस्तृत शान्तिसम्झौतामा हस्ताक्षर भएको ठीक एक वर्षपछि मैले प्रचण्डलाई पोखराको होटल गि्रनपिसमा भेटेँ । ६ मंसिर ०६४ को बिहान सुरक्षाका केही घेरालाई पार गरेपछि प्रचण्डसँगको भेट सम्भव भयो । सुरक्षा घेरा पूर्णतः पार्टी लडाकुको थियो । त्यो भेट एकप्रकारको शिष्टाचार थियो । तर, मलाई याद दिलाउने कुरा चै विद्रोही नेताको खानपानको व्यवस्था र कार्यकर्ताको हुल थियो । बाहिर लामो लाइन क्षेत्रीयस्तरका र त्यसभन्दा माथिका कार्यकर्ताको थियो । पल्लोपट्टि टहरोमा मैले पहिले नै चिनेका केही कार्यकर्ता खाना पकाउने काममा थिए । होटल त्यस दिनका लागि पूरै बुक गरिएको रहेछ । आफ्नै कार्यकर्ताको सुरक्षा घेरा, अनि कार्यकर्ताले नै पकाएको खाना । प्रचण्डको सौख त यो पक्कै नहुनुपर्ने । विद्रोही नेताको सुरक्षा सतर्कता हुनु जायज हो । तर, त्यति धेरै सतर्कता मैले अनुमान गरेको थिइनँ ।
३ नेपालको प्वाल परेको मोजा
माधवकुमार नेपालसँग मैले अहिलेसम्म तीनपटक कार्यक्रम तयार पारेँ । पहिलो पार्टी महासचिव भएकै बखत, दोस्रो चुनाव हारे पनि माओवादीको अनुरोधमा संविधानसभा संवैधानिक समितिका प्रमुख भएका वेला र तेस्रो प्रधानमन्त्री भएपछि ।
माधव नेपालसँगको भेटलाई लिएर ९ मंसिर २०६४ मा मेरो डायरीमा यस्तो लेखिएको रहेछ- कालो चिया लिएर म नेपाललाई पर्खिरहेको थिएँ । कोठाको स्वरूप हेर्दा सानोतिनो भेटघाटका लागि उपयोग हुने देखिन्थ्यो । कोठा सामान्य थियो । सँगै जोडिएको
ट्वाइलेटको ढोका खुला थियो, र त्यहाँबाट चर्को गन्ध आइरहेको थियो । भित्तामा केही तस्बिर थिए, देशकै बारेका ती तस्बिर तत्कालीन ‘शाही नेपाल वायुसेवा निगम’ ले उपहार दिएका रहेछन् । गणतन्त्रका लागि त्यत्रो आन्दोलनको नेतृत्व गरेको दलको कार्यालयमा ‘शाही’ शब्द सुहाएजस्तो लागेन मलाई । हिमाल, पहाड र हरियाली दृश्यबाहेक मनमोहन अधिकारीको मात्र तस्बिर थियो । मदन भण्डारीको ‘जबज’ बोकेर हिँडेको पार्टी उनकै तस्बिर चैँ थिएन । करिब दस मिनेटपछि नेपाल आए । र, दलको मिटिङदेखि गिरिजाप्रसाद कोइरालासम्मलाई भेटेको कुरा सुनाए । ती कुरा हामीलाई सुनाउनु सायद आवश्यक थिएन । कुराकानीका क्रममा उनले जुत्ता खोले । नेताज्यूले त प्वाल परेका मोजा पो लगाएका रहेछन् । सोचे उनी पनि आखिर नेपाली नागरिक नै हुन् ।’

४ झन्डै चैट भएको
०६५ चैतको अन्तिम साता प्युठान यात्रामा थियौँ । देशको पश्चिमदेखि यात्रा सुरु गरेर पूर्व पुग्ने योजना थियो । नयाँ संविधानका बारेमा जनमत बुझ्ने र कार्यक्रमको पिआर बढाउने योजना साथ नेपालमा रहेको बिबिसीको टोली नै महेन्द्रनगरदेखिको यात्रामा थियो । प्युठान जान पूर्व-पश्चिम सडक मार्गलाई भालुवाङमा छाडेर उकालो लाग्दा साँझको पाँच बजिसकेको थियो । भालुवाङबाट प्युठानसम्मको झन्डै ७० किमि धुलौटे सडक यात्रा बाँकी थियो । साँझ त्यो रुटमा मोटर नचल्ने रहेछ । त्यसैले सडकमा रातोमाटोमा पानी घोलेर छाडिएको रहेछ । भालुवाङबाट केही किलोमिटर पार गरेपछि रातोमाटोमा पानी घोलिएको चिप्लो घुम्ती पार गर्न खोज्दा बस अगाडि बढ्नुको सट्टा झन् पछि हटयो । साँघुरो बाटोबाट बस खोलामा खस्नै लाग्यो । धन्न बस सहायकले पछाडिको चक्कामा ढुंगाको ओत दिन भ्याएछन्, र रोकियो ।
दुर्घटना टरेकोमा सबैले लामो सास फेर्यौँ ।
५ कोसी बगरमा मरुभूमिको रात
बिबिसी यात्राकै क्रममा महेन्द्रनगरबाट कोसीसम्म आइपुग्दा ०६६ को नयाँवर्ष सुरु भइसकेको थियो । कोसी नदीले काटेको सडकमा बालुवा र ग्य्राबेलको मात्रै भए पनि मोटर गुड्न सक्ने ट्रयाक तयार भएको थियो । कोसी ब्यारेज तरेर अघि बढ्दा त्यो ठाउँ बालुवाको मरुभूमि जस्तो देखिन्थ्यो । जताततै बालुवामात्रै । बालुवाको बीचमा कतै-कतै मानिस हिँडिरहेका देखिन्थे । देशभित्र त्यस्तो मरुभूमि देखियो भन्दै साथीहरू फोटो खिच्न थाले । केहीबेर अघिसम्म पश्चिममा देखिएको कालो बादल एक्कासि मडारिएर आयो । बादलभन्दा पहिले हुरीको मुस्लो पस्यो । हुरीले बालुवा उडाएर ल्यायो । नेपाली सेनाका सुमन खरेलको चस्मा उडायो । मान्छे नै उड्नेगरी बतास आएपछि बस पनि रोकियो, त्यसपछि केहीबेर अन्धकार छायो । रातको जस्तै अन्धकार भयो । हावाको जोडमा मोटर लच्किन थाल्यो र छतको एउटा भाग उडाएर लग्यो । अब बसभित्रै हुरी र पानी छिर्न थाल्यो । सबै त्रसित भयौँ, कतै बस नै पल्टाइदेला भनेर । बस बाहिर निस्कन त झनै मिल्दैन । मान्छे उडाउने हावा चलिरहेको छ ।
करिब २० मिनेटपछि हावा र पानी बन्द भयो । बसभित्र पनि एक-अर्कालाई समातेर र छाता ओढेर कोसी बगरमा बाँचियो । बाहिर निस्किएपछि एकजना साथीले भन्यो, ‘मैले नसमातेको भए बस पल्टिन्थ्यो ।’ बिचरा ऊ आफै भने पानी र हुरीले चुटेर रुझेको बिरालो जस्तो लगलग काँपिरहेको थियो ।
६ जातीय राज्यको सन्त्रास
इटहरी र त्यहाँबाट इलामसम्मको यात्रा थुप्रैपटक गरेँ । तर, ०६५ चैतको पहिलो साता पाँचथरको फिदिम पुग्दा जातीय राजनीतिको ताप पहिलोपटक अनुभव गरेँ । पहिचानको राजनीतिको उग्र रूप देखेँ । पल्लोकिरात लिम्बूवान राष्ट्रिय मञ्चको नाममा नेपाललाई छिमेकी राज्यको दर्जामा सम्झौता गर्न अपिलसहितको पर्चा फिदिम बजारभरि छरिएका थिए । ‘लिम्बूवानविरुद्धमा बोल्ने अधिकार कसैलाई छैन । जसले बोल्छ उसलाई यमलोक पुग्नुपर्नेछ ।’ पर्चामा लिम्बूवानलाई स्वतन्त्र राज्य बनाउने उल्लेख थियो । संघीय लिम्बूवान राज्यपरिषद्को नाममा बजारमा अर्को पर्चा पनि थियो । ती पर्चामा १८१४ मा तत्कालीन राजा पृथ्वीनारायण शाहले लिम्बूवानसँग गरेको सम्झौता राजतन्त्र समाप्त भएकाले पुनव्र्याख्या हुनुपर्ने माग थियो । त्यसको लुकको अर्थ पुरानो किपटप्रथा लिम्बूको हातमा आउनुपर्छ भन्ने थियो । सर्वसाधारण लिम्बूमा पनि त्यही बुझाइ थियो- अब त्यहाँको जमिनको हालिमुहाली लिम्बूले नै गर्नेछन् । त्यहाँ सानो आमसभा भयो म पुगेको भोलिपल्ट । त्यस सभामा मैले पहिलोपटक सुनेँ ‘बाहुनको नाक काटिन्छ, आलो रगत चाटिन्छ’ भन्ने नारा ।
साँझ पाँचथर टाइम्सका सम्पादक प्रेम ओझासँग भेट भयो । त्यहाँका बाहुन-क्षेत्री समुदायका सदस्यको चिन्ता उनले सुनाए । ती समुदायका मानिस मुख खोल्न सक्ने अवस्थामा थिएनन् । नजानिँदो भयमा दिन बितिरहेको थियो ।
पाँचथरको त्यो अवस्था देशको सम्भावित खतराको संकेतजस्तो मलाई लागेको थियो । केही दिनपछि इलाम र इटहरीमा पनि मैले त्यस्तै अभिव्यक्ति सुनेँ । त्यही अभिव्यक्ति फेरि सुन्दा झन् चिन्ता लाग्यो । इटहरीको एउटा कार्यक्रममा इटहरी क्षेत्र मधेस राज्यभित्र हुनुपर्छ भन्ने मधेसी सहभागीको विरोधमा सम्भवतः जातीय राज्य चाहिन्छ भनेर तर्क राख्ने अज्ञात सहभागीले ढुंगा प्रहार गरे । गलत ठाउँमा मार परेकाले कसैलाई चोट लागेन । तर, त्यो संकेत गम्भीर थियो । त्यसअघि इलाममा केही तन्नेरी र स्कुले ठिटाले जिप रिजर्भ गरेर जातीय राज्य माग गर्दै बजार बन्द गराउँदै हिँडेको पनि देखियो ।
भुसको आगोजस्तै फैलँदै गरेको जातीय राज्य मागको नारा राज्य पुनर्संरचना हुँदा कसरी समाधान हुन्छ होला म पर्खिरहेको छु ।
७ बन्दको यात्रा
६ चैत ०६५ हामी इलाममा बिहानको खाना खाएर फर्किँदै थियौँ । स्ववियु चुनावमा समानुपातिक चुनावी प्रणाली लागू गर्नुपर्ने भन्दै जातीय समूहनिकट विद्यार्थीले पूर्व बन्द गरेका थिए । हामीलाई पनि त्यही दिन विराटनगर र्फकनु थियो । बिबिसीको नामलाई प्रदर्शनकारीले पक्कै पत्याउलान् भनेर परेको बाटैमा बेहोर्ने सुरमा अघि लागियो । चारआलीसम्म ठीकै थियो । बाटो खाली थियो । गाडीको गति तेज थियो । धुलाबारी चोक आइपुगेपछि चोकमा मानिसको हुल भेटियो । किन त्यस्तो हुल लागेको थाहा पाउन सकेनौँ । बिहान इलाममा तन्नेरीहरू टाउकोमा रातो रुमाल बाँधेर र्यालीमा थिए । विवेकभन्दा पनि आवेशमा कुदिरहेका ती युवाहरू भन्दै थिए, ‘बाहुनको चुच्चो नाक काटिन्छ, आलो रगत चाटिन्छ ।’ जातीय नाराको पराकाष्टा थियो त्यो ।
धुलाबारी चोकनेर पुगेपछि एउटा केटोले सडकबीचबाट हात उठायो । बस रोक्नुपर्ने उसको संकेत थियो । स्थानीय रुटमा चल्ने माइक्रोबस भाडामा लिएकाले हामी ढुक्क थियौँ गुरुजीप्रति । चिनेकै होलान् भन्ने हामीलाई लागेको थियो । तर, परिस्थिति उल्टो भयो । अघिल्लो लाइनमा उभिएका अर्का ठिटोले लामो घोचो बजारे । घोचो अगाडिको हुटमा छोएर भुइँमा बजारियो । सिसा फुट्न पाएन । यसरी रोकिन नपाउँदै अर्का तन्नेरी गुरुजीको घाँटी समात्न आइपुगे । त्यसले गुरुजीलाई एक चड्कन हान्न भ्याए । स्थिति एकछिनमा डरलाग्दो भयो ।
पछि थाहा भयो, स्ववियु चुनावमा समानुपातिक हुनुपर्ने मागसहितको आन्दोलनमा धुलाबारी क्याम्पसका विद्यार्थी मनिल तामाङको मृत्यु भएको रहेछ । र, आक्रोशित विद्यार्थीले सडक बन्द गरेका रहेछन् । त्यो चोकमा सुरक्षाकर्मीको नामोनिसाना थिएन । तैपनि थोरै मात्र तल-माथि परेको भए तन्नेरीहरूको हुलले आगो लगाउन पनि सक्थे भन्ने सोच्दा मन अहिले पनि चिसो भएर आउँछ ।
८ महिलाको स्वरुप
गतसाल मार्चमा अन्तर्राष्ट्रिय महिला दिवसका दिन म सुदूरपश्चिम दार्चुला पुगेको थिएँ । राजधानीदेखि निकै टाढा भएकाले त्यहाँको खबर प्रायः आउँदैन । त्यस दिन मैले दुईवटा अनौठा घटना देखेँ । खलंगा बजारमा सौका समुदायको बाक्लो बस्ती छ । दार्चुला जिल्ला उत्तरपट्टि ब्यासी क्षेत्रमा सौका समुदायको बसोबास छ । यो समुदायको एउटा ठूलो हिस्सा भारततर्फ पनि बसोबास गर्छन् । डोरबहादुर विष्टदेखि हर्क गुरुङसम्मका समाजशास्त्रीका पुस्तकमा ती समुदाय प्रकृतिपूजक हुन् भनेर उल्लेख छ । उनीहरूको धर्म भनेको काठमा मस्टालाई पूजा गर्नु हो । तर, त्यो (महिला दिवसका दिन) दिन त्यहाँ सौका समुदायका महिला ऐतिहासिक ग्रन्थमा उल्लेख भएअनुसारको परिधानमा झाँकीसहित उपस्थित थिए । तरवार र ढाल लिएर वीर योद्धाको जस्तो पहिरन लगाएका थिए । त्यस्तो पहिरनमा महिला पनि आक्रामकजस्ता देखिन्थे । महिलालाई शक्तिको प्रतीक मात्र मान्ने प्रचलनमा त्यसको प्रतिविम्ब नै देख्न पाउँदा मलाई रमाइलो लाग्यो । त्यसै दिन साँझा खलंगा बजारमा कुनै एउटा परिवारमा बिहेभोज छ भन्ने खबर साथीले सुनायो । पछि थाहा भयो त्यस दिन एउटै बेहुलाको दुईवटी बेहुली भित्र्याइने कार्यक्रम रहेछ । घरमा बाबुआमाले मगनी गरेको अर्की केटी पनि रहेछ । दुवै बेहुली एकै दिन भित्र्याउने तयारी भइरहेको थियो । त्यहाँको सामाजिक चलनअनुसार त्यो सम्भव छ रे । म भने अचम्ममा परेको थिएँ । बिहान नारीको वास्तविक शक्तिको स्वरूप देखेको थिएँ, साँझ त्यही नारी अबलाका रूपमा देखेँ ।
९ चर्पीसँग रिस
रारालाई अप्सरासँग तुलना गर्ने धेरै छन् । राजा महेन्द्रले त सुन्दर कविता पनि सिर्जना गरे राराकै बारेमा । राराको नीलो सुन्दरतामा जोकोही रमाउन सक्छन् । तर, राराभन्दा केही कोश तलको दुर्दशा भने राजा महेन्द्रले आठ घन्टा लगाएर ताल वरिपरि घुम्दाको वेलादेखि अहिलेसम्म पनि उस्तै छ । ०६५ माघताका मुगु सदरमुकाम गमगढीबाट चाल्सा जाँदै थिएँ । राराताल रहेको ठाउँबाट तीन-चार घन्टा हिँडेपछि गमगढी पुगिन्छ । गमगढीबाट केही तल हिँडेपछि कार्कीबाडा आइपुग्छ । कर्णालीमा गाउँलाई बाडा भनिन्छ । कार्कीबाडा आइपुग्न लाग्यो भन्ने संकेत मानिसको दिशाले दियो । जति-जति गाउँ नजिक आइपुग्यो, त्यति बाक्लो फोहोर । बाटो पूरै ढाकिएको थियो । दुर्गन्धले सास फेर्न कठिन भयो । टेक्ने ठाउँ पाउनै मुस्किल । मान्छेको दिसा पनि धेरै भएपछि कुकुरले पनि खाइसक्दो रहेनछ । बारी बाँझै राखे पनि खाद्यको चामलले रक्सीसमेत बनाउन पुग्ने त्यहाँ गैरसरकारी संस्थाले बनाइदिएको ट्वाइलेट भने कोदोको नल राख्न प्रयोग भएको थियो । लाग्यो- मानिसलाई गैरसरकारी संस्थाले परनिर्भरता बढाएको रिस छ । त्यसैले चर्पी प्रयोग गर्दैनन् उनीहरू ।
१० मध्यरातमा सिमाना क्रस
०६५ चैतको कुनै दिन हुनुपर्छ । पूर्वको कुनै ठाउँमा कार्यक्रम सकेर हामी विराटनगर बास बसेका थियौँ । साँझ लोडसेडिङमा बत्ती निभेपछि होटल पुगेकाले कुन होटल र कहाँनेर भन्ने मेसो पाएनौँ । साँझको खाना होटलबाहिरै खाने भनेर बाहिर निस्क्यौँ । अन्धकारमा केहीबेर हिँडेपछि उज्यालो ठाउँ पुगियो । त्यही एउटा होटलमा खाना खाइसक्दा रातिको १० बजिसकेको हुनुपर्छ । बाहिर सडक सुनसान थियो । दिनभरिको थकाइ र सहकर्मीको गफमा समय कति भयो ख्याल भएन । खाना खाएर होटलबाहिर निस्कँदा बत्ती आइसकेको रहेछ । पान पसलमा मीठा पान खाएर रातको खुला सडकमा गपिदै अगाडि बढियो । कहाँबाट निस्क्यौं कसैलाई याद भएन । गफैगफमा करिब ३० मिनेट हिँडेपछि एक्कासि पुलिसको चर्को आवाज सुनियो । सबै एकछिन स्थिर भयौँ । ‘कहाँ जान लागेको ?’ पुलिसले सोध्यो । तिनीहरू नेपाली पुलिस थिए । हामी होटल जान लागेको बतायौँ । अगाडि त नेपाल-भारत सीमा जोगबनीको बोर्डर पो रहेछ । रातको वेला सीमा नाघ्न लागेको सुरक्षाकर्मीले हल्ट गरेको रहेछ । होटल भुलेको बताएपछि पुलिसले आफ्नै गाडीमा हालेर हामीलाई होटलसम्म लगिदियो । होटलमा पुगेपछि सम्झेँ- कस्तो सिमाना राति रक्सिएर भुलमा पनि सजिलै पार गर्न सकिने ।
११ पुलिसको मान्छेलाई सिट नदिँदा विशेष सुरक्षा योजना लागू
०६६ को माघ महिना । माओवादीका अप्रमाणित लडाकुको शिविर छाड्ने क्रम धमाधम चलिरहेको थियो । शिविर छाड्न लागेका अप्रमाणित लडाकुको आफ्नै भनाइ कार्यक्रममा समेट्न हामी माओवादी सेनाको पाँचौँ शिविर रहेको रोल्पाको दहवनबाट कर्याक्रम तयार पारेर पर्कँदै थियौँ । दहवनबाट घोराहीसम्म करिब ३५ किमि कच्ची बाटो र त्यसपछि नेपालगन्जतिरको सडक यात्रा त्यति सजिलो थिएन । सबै थाकेका थियौँ । कार्यक्रममा भाग लिएर हामीसँग फर्किरहेका एमाले सभासद् तथा सेना समायोजन प्राविधिक समितिका सदस्य पूर्वसहायकरथी गोपालसिं बोहरा पनि थिए । नेपालगन्जनजिक शमशेरगन्ज आइपुगेपछि गृहमन्त्रीको विशेष सुरक्षा योजनाअनुसारको सशस्त्र प्रहरीले चेकिङ गरिरहेको थियो । केहीबेरको लाइनपछि हाम्रो पालो आयो । सशस्त्रको एकजना जवान गाडीभित्र पसे । पछाडिसम्म पुगेर के-के सामान छ भन्दै फर्किए । हामी एकजना सहकर्मीलाई बाटोमा पुलिस चेकिङले संकटकालको झझल्को दिएछ र फोटो खिचे । ती जवान बाहिर निस्केपछि एकजना महिला लिएर फेरि भित्र पसे । उनले ती महिलाका लागि नेपालगन्जसम्म लिफ्ट मागे । भाडामा लिएको गाडी, बाटोमा केही भयो भने बिमादेखि कतिपय कुरामा झन्झट हुने सम्भावनाले आफ्नै टिमबाहेकलाई नचढाउने चलनअनुसार अर्को बसमा लिफ्ट खोज्न ती जवानलाई सल्लाह दियौँ । सायद त्यो कुरा जवानलाई मन परेन । ओर्लिएको केहीबेरमा अर्का जवान फेरि आयो । त्यसपटक चैँ फोटो खिच्ने को हो ? भन्दै निहुँ खोज्ने तयारी गर्यो । तस्बिर लिनुको सामान्य घटना थियो । बसभित्र खिचिएको तस्बिरमा सुरक्षा संवेदनशीलता जोडिनुपर्ने कारण थिएन । हाम्रो मोटरलाई साइडमा राखियो । फोटो डिलिट गर्नुपर्ने र माथिको आदेश नभई जान नपाउने बताइयो । नेपालगन्जबाट काठमाडौंको फ्लाइट छुट्न एक घन्टा मात्र बाँकी थियो । गोपालसिं बोहराले आफू सभासद् भएको र सुरक्षाको हिसाबले संवेदनशील कुनै तस्बिर नखिचिएकाले बाटो छाडिदिन आग्रह गरे । बोहराको परिचय-पत्रलाई त ती सुरक्षाकर्मीले कुनै स्कुले विद्यार्थीको कार्ड जस्तो ठानेछन् । केही वास्ता गरेनन् । हामी सबैलाई भित्र बोलाइयो । पुलिसको निगरानीमा बसबाट ओर्लेर जाँदै गर्दा एकजना साथीले राजधानी फोन गरे । सशस्त्रकै कोही ठूलै मान्छे चिनेका रहेछन् । ती ठूलो मान्छेसँग हाम्रो अवस्था बताएपछि तिनले डयुटीमा खटिएका जवानसँग पनि कुरा गरे । सायद ती जवानले हल्का गाली पनि पाएको हुनुपर्छ, बित्थामा अरूलाई दुःख दिएकोमा । त्यसपछि उनले बोहरालाई सलाम गरे र हामीलाई जान दिइयो । ती साथीले राजधानीको ठूलो मान्छे नचिनेको भए हामीले त्यस दिनको फ्लाइट त छुटाउनैपथ्र्यो, पुलिसको दुई-चार लात पनि खान पथ्र्यो होला ।
१२ झरीको पानीमा साझा सवाल
खाँदबारी संखुवासभा २०६६ असार तेस्रो साता । वर्षेझरी सकिएको थिएन । तुम्लिङटारको रातोमाटो चप्पलमा बोकेर खाँदबारी पुग्दा साँझको झुल्केघाम पारि भोजपुरपट्टि दिङ्लाको डाँडाबाट ओझेल परिसकेको थियो । रुद्राक्ष व्यापारको चहल-पहल थिएन । तर, दाना बेचेर कमाएको पैसाले अधिकांश मानिस धनी भएका छन् भन्ने सजिलै बुझ्न सकिन्थ्यो । खाँदबारीका पसलमा चामल अभाव थियो । तर, बियरको स्टक प्रशस्त थियो । प्रत्येक होटलको अगाडि बियरको खाली बोतलको रास देख्न पाइन्थ्यो । सम्पन्नताको नयाँखाले परिवेश देखिरहेको थिएँ देशभित्रै ।
राति बेस्सरी पानी पर्यो । कर्कटपाताको छानामा ठोक्किएको पानीको धाराले सँगैका साथीको आवाज सुन्न पनि मुस्किल पथ्र्यो । स्थानीय उत्पादन ‘सुरुवा’ को तापमा झयालबाट आएको बाछिटाले असारको गर्मीलाई ओसिलो पारेको थियो । त्यसको भोलिपल्ट कार्यक्रम रेकर्ड गर्नु थियो । रातभरिको झरीले केही चिन्तित पार्यो, कस्तो होला भोलिको कार्यक्रम ।
बिहान बादलको पहाडबाट केहीबेर घाम देखियो । आकाश खुला भएर आयो । कुहिरो बिस्तारै फाट्न थाल्यो । खाँदबारी बजारको माथिल्लो छेडमा हिमाली स्कुलको अग्लो डाँडामा कार्यक्रम तयार पार्ने साथीहरूले निधो गरे । कुहिरो फाटेको वेला अरुण नदी नागबेलीजस्तो देखिन्थ्यो । अरुणको बायाँपट्टि तुम्लिङटार लमतन्न भएर बसेको थियो । पारि भोजपुरको दिङ्ला र देउराली पातलो कुहिरोको छायामा हराएको थियो । करिब १५०० मिटरको स्कुल डाँडामा कार्यक्रम रेकर्ड सुरु भयो । साहित्यकार आहुति, कांग्रेस नेता मनमोहन भट्टराई र एमालेकी सभासद् भगवती चौधरी थिए- अन्तर्वार्ताको हट सिनमा । आरक्षणको मुद्दा थियो छलफलको विषय । पहिलो खण्ड सकियो । दोस्रो खण्ड सुरु भयो ।
उत्तरपट्टि मकालु हिमालबाट बादलको आँधी बिस्तारै स्कुल डाँडातिर बग्न थाल्यो । एक्तेनमा सिमसिम पानी पर्यो । साथीहरू बिजुलीबाट चल्ने सामान जोगाउन छाता ओढाउन थाले । क्यामेरा चिनियाँ छाताले छोपियो । केही सामानलाई प्लास्टिकले जोगाइयो । केहीबेरपछि पानी हटयो । कार्यक्रम फेरि सुरु भयो । करिब दस मिनेटपछि फेरि पानी पर्यो । रेकर्ड रोकियो । फेरि सुरु भयो । तेस्रोपटक सानोतिनो भल बग्नेगरी पानी पर्यो । पानीबाट सामान जोगाउन मुस्किल होला जस्तो भयो । सहभागी करिब ८० जना थिए । केही छातामुनि ओत लागे । कोही अलि परको सानो स्कुल भवनको पालीमा ओत लागे । लोकेसनको लोभमा खुला ठाउँमा कार्यक्रम तयार पार्ने जोखिम मोल्दा कार्यक्रम नै नबन्ने हो कि भन्ने चिन्ता लाग्यो । करिब १० मिनेट बाक्लो पानी परेपछि रोकियो । र, कार्यक्रम पुनः सुरु भयो ।
चौथोपटक पानी पर्नुअघि यसपटक चै हामीले कार्यक्रम सक्यौँ । हतारै भए पनि काम फत्ते गर्न पाएकोमा खुसी लाग्यो ।
हिलो बाटोले कुनै मोटर नपाएपछि करिब चार घन्टा लगाएर भरियाको सहयोगमा सबै सामान तल तुम्लिङटार ओराल्नुपरेको थियो । फर्किँदा भरतमोहन भट्टराई भन्दै थिए, ‘पोलिटिकल एलिटहरू शासन गर्नमात्र चाहन्छन् । त्यसैले नयाँ काम गरेर सुधार्ने योजना उनीहरूमा हुँदैन ।’ उनको कुरामा भुल्दा मचैँ रातोमाटोमा परेर चिप्लिएको थिएँ ।
स्रोत:
shyam |
देश भित्रको खबर |
04 16th, 2010 |
8 Comments »