
ए.क सातादेखि नारी टिमले डा. भोला रिजाललाई भेट्न खोजिरहेको थियो । उनी पनि समय दिन चाहिरहेका थिए । यद्यपि रिजालको कामको चाप यति धेरै थियो कि हाम्रो समय सरिरह्यो । देशका सबैभन्दा चर्चित एवं व्यस्त स्त्री तथा प्रसूति रोग विशेषज्ञलाई भेट्नु कठिन काम पनि हो ।
व्यस्तताका बाबजुद गत महिनाको एउटा शनिबार उनले समय दिए । बिहान दिएको समयमा भेट्ने क्रम मिलाउँदा-मिलाउँदै दिन बित्यो । एउटा गोष्ठी र आफ्नै एल्बमको रेकर्डिङ सकेर हतार-हतार घर फर्किएका डा. रिजालले हामीलाई देख्नेबित्तिकै भने, ‘सरी है, मेरो जीवन त यस्तै छ ।’
बिहान साढे ४ बजे उठ्ने डा. रिजाल नुवाइधुवाइ गरी भगवान्सँग आशीर्वाद माग्छन् । त्यसपछि श्रीमतीले बनाएको ब्रेकफास्ट खाई ६ बजे ओम अस्पताल पुग्छन् । सवा ६ बजे अप्रेसन गरेका बिरामी हेर्छन् । ७ बजेसम्म राउन्डमा बिरामी हेरिसक्छन् । राउन्डका बिरामी हेरेपछि ७ बजे अप्रेसन गर्ने कोठामा जान्छन् । उनी दिनहुँ सुत्केरी तथा अन्य गरी २० वटाजति अप्रेसन गर्छन् । पेट फुटेका, शिशु जन्माउन नसकेका बिरामी डा. रिजालकहाँ आउँछन् । कहिलेकाहीँ त बिरामीको उपचार गर्दागर्दै खान पनि बिर्सन्छन् । भ्याएको बेला बिहानको खाना अस्पतालको क्यान्टिनमा खान्छन् । शनिबारको दिन मात्र घरमा खान भ्याउँछन् । मेसिनजस्तै व्यस्त डा. रिजाल खानुभन्दा पनि बिरामीको उपचार गर्नु ठूलो कुरा भएको बताउँछन् । महिनौंअघि नाम लेखाएर उपचारका लागि आएका बिरामीको भीड ओपिडीमा लाग्छ । दिउँसो १२ बजेपछि उनी ओपिडीमा बिरामी जाँच्छन् । यसो गर्दागर्दै बेलुकाको ५ बज्छ । त्यसपछि पुनः अप्रेसन गरेर बसेका, अन्य समस्या परेर भर्ना भएका बिरामीलाई राउन्डमा हेर्छन् । यत्तिकैमा बेलुकाको ७ बज्छ । व्यस्तताले गर्दा अस्पतालमा केही मिटिङ राख्नुपरे बेलुका ७ बजेतिर राख्छन् । भर्खरै मात्र उनी नेपाल मेडिकल कलेजको अध्यक्ष भएका छन् । समय मिलाएर त्यहाँ पनि जान्छन् ।
मिटिङ नभएको र भेटघाटमा जानु नपरेको बेला ७ बजेसम्म उनी घर पुग्छन् । बेलुकीको खाना प्रायः घरमै खान्छन् । केही बेर टेलिभिजनमा समाचार तथा अन्य कार्यक्रम हेरेपछि भोलिका लागि बिरामी उपचार गर्ने कल्पना गर्दै निदाउँछन् ।
बाल्यावस्था र शैक्षिक अवस्था
डा. भोला रिजाल २००४ साल कात्तिक १४ गते धरान, सुनसरीमा जन्मिएका हुन् । उनका बुवाको नाम जननीप्रसाद रिजाल तथा आमाको नाम पूर्णमाया रिजाल हो । जेठा छोरा डा. रिजालका २ दिदी, १ भाइ र १ बहिनी छन् । उनको भाइको मृत्यु भैसकेको छ ।
त्यतिबेला पढ्ने विद्यालय त्यति धेरै थिएनन् । डा. रिजालका जिजुबुवा धु्रवलाल रिजाल दूरदर्शी एवं शिक्षाप्रेमी थिए । उनमा नखाएर भए पनि छोरा-नातिलाई पढाउनुपर्छ भन्ने मान्यता थियो । नेपालमा राम्रा शिक्षक नपाउँदा पनि भारतबाट शिक्षक झिकाएर पढाउँथे । खाना खानु ठूलो कुरा होइन, पढ्नु ठूलो कुरा हो भन्ने सिद्धान्तमा अडिग उनका जिजुबुवाकै कारण रिजाल परिवारका छोरा-नाति सबैले शिक्षित हुने मौका पाए । पढाए पछि गरिखान सक्छन् भन्ने सोच उनको जिजुबुवामा थियो । फलस्वरूप आज उनका सबै छोरा-नाति विभिन्न क्षेत्रमा राम्रो ठाउँमा छन् । डा. भोला रिजाल वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ भैहाले । उनका ठूला बुवाका छोरा गीतकार कालिप्रसाद रिजाल धनकुटा कलेजका फाउन्डर पि्रन्सिपल हुन् । गंगा रिजाल पाइलट छन् । सरोज रिजाल अर्थोपेडिक्स सर्जन हुन् । विष्णु रिजाल नाक, कान, घाँटीका चिकित्सक छन् । स्व. चिरञ्जीवी रिजाल उप-सभामुख भएका थिए । यसरी रिजाल परिवारका छोरा-नाति ठूला-ठूला पदमा पुगेको कुरा डा. रिजाल गर्वका साथ सुनाउँछन् ।
डा. रिजालको स्कुले जीवन धरान तथा विराटनगरमा बित्यो । धरानमा उनका गुरु हरिहर झा थिए । गुरुले उनलाई असाध्यै माया गर्थे । त्यस्तै राजेन्द्र तथा रेवती सर पनि त्यतिबेलाका राम्रा गुरु भएको उनी सम्झन्छन् । उनले विराटनगरको आदर्श विद्यालयबाट एसएलसी दिए । उनी औसत विद्यार्थी थिए । उनले एसएलसी दिनुअघि १७ सालमा जिजुबुवाले सबै छोरालाई अंशबण्डा गरिदिएर आफू काशीवास जाने निर्णय गरे । डा. रिजाल मनपर्ने नाति भएकाले काशीवास जानुअघि नै भोलाको विवाह गरिदिने उनको अडान थियो । उनी सम्झन्छन्- ‘जिजुबुवाको अगाडि विवाह गर्दिन भन्न आँट आएन ।’ डा. रिजाल बाल्यावस्थामा असाध्यै सज्जन, ज्ञानी, जहाँ राख्यो त्यहीँ बसिरहने स्वभावका भएकाले उनका जिजुबुवाले उनको नाम भोला राखिदिएका थिए । यसरी माया गर्ने हजुरबुवाले विवाहको कुरा गर्दा उनले नाईं भन्न सकेनन् र हजुरबुवाको इच्छाबमोजिम धरानकी सरला घिमिरेसँग उनको विवाह भयो । विवाह गर्दा उनको उमेर १५ वर्ष थियो भने सरला मात्र १२ वर्षकी थिइन् ।
विवाहपछि उनले एसएलसी दिए । एसएलसी उत्तीर्ण भएपछि उनी आइएस्सी पढ्न हजुरबुवासँगै बनारस गए । आदर्श विद्यालय बनारसमा माइला बुवाका छोरा तिलक र उनी सँगै आइएस्सी पढ्न थाले । आइएस्सी पूरा गरेपछि डा. रिजाल काठमाडौं आए । एमबीबीएस अध्ययनका लागि ढाका जान डा. रिजाल काठमाडौं आएका थिए । ढाका जान छनोट भए पनि बर्माको बाटो हुँदै ढाका जानुपर्ने थियो । बर्मामा युद्ध भएकाले जिजुबुवाले नजा भनेकाले उनले २०२३ सालमा त्यो सिट गुमाए । त्यही सिटलाई २०२४ सालमा ट्रान्सफर गरेर उनी ढाका पढ्न गए । २०३० सालमा ढाकामा एमबीबीएस सिद्धिएपछि नेपाल आए । ढाकाबाट आएको ३-४ महिना विराटनगर अस्पतालमा काम गरे । त्यसपछि तौलिहवा, राजविराज, इलाम, ताप्लेजुङ, सोलु, सल्लेरी, संखुवासभा, धनकुटा आदि ठाउँमा उनले बिरामीको सेवा गरे ।
डा. रिजाल २०३६ सालमा थप अध्ययनका लागि ढाका गए । नेपालमा राम्रो स्त्री तथा प्रसूति रोग विशेषज्ञ आवश्यक देखेर नै उनी यो विषयतर्फ आकषिर्त भएका थिए । काममा दत्तचित्त भएर लागिपरे मात्र राम्रो गर्न सकिन्छ भन्ने उनको धारणा थियो । राजविराज, तौलिहवाजस्ता ठाउँका महिला पनि महिला चिकित्सकभन्दा उनीसँगै उपचार गर्न चाहन्थे । त्यसले पनि उनलाई स्त्री रोग विशेषज्ञ बन्न थप सहयोग मिल्यो ।
नेपालबाट तत्कालीन राजपरिवार, प्रध्ाानमन्त्री, मन्त्री वा अन्य विशिष्ट व्यक्ति बंगलादेश पुग्दा डा. रिजाललाई पनि बोलाइन्थ्यो । सबै नेपाली कार्यक्रममा उनी सामेल हुन्थे । पढाइमा होस् वा अन्य कार्यक्रम, उनी निकै अगाडि थिए । नेपाली विद्यार्थीले ढाकामा राम्रो पहिचान बनाएको डा. रिजाल गर्वका साथ भन्छन् । पछिल्लोपटक ढाका जाँदा उनी धेरैजसो समय श्रीमतीसँग बसे । २०३९ सालमा पढाइ सिध्याएर नेपाल फर्किए । सरकारी जागिरमा छँदा उनी ढाका पढ्न गएका थिए । फर्किनु १५ दिनअघि उनको सेवा समाप्त गरिएको थियो । त्यसपछि सिधै शिक्षण अस्पताल महाराजगन्जमा लेक्चररको जागिर पाए । लगत्तै एसोसिएट प्रोफेसर र एसिस्टेन्ट डिन पनि भए ।
२०४६ सालमा शिक्षण अस्पतालको निर्देशक डा. रिजाल नै थिए । आन्दोलन पनि उनकै पालामा भएको थियो । सुन्दरीजल काण्ड पनि त्यही बेलामा भएको थियो । क्रान्तिकारीको लास प्रहरीबाट खोसेर उनीहरूले लगेका थिए । त्यसपछि रातको साढे दुई बजे डा. रिजाललाई बालुवाटार ल्याइयो । त्यहाँ आफूले मेडिकल आन्दोलन नगरी राजनैतिक आन्दोलन गरेको अवगत गराए । ०४६ सालको आन्दोलनमा सबैभन्दा राम्रो भूमिका शिक्षण अस्पतालले खेेलेको उनले बताए ।
उनले शिक्षण अस्पतालमा झन्डै ९ वर्ष काम गरे । ४६ सालपछि त्यहाँ प्राक्टिसिङ र नन प्राक्टिसिङको झगडा सुरु भयो । उनी र उनकी श्रीमती श्रीलंका गएका थिए । एउटा कार्यक्रममा भाग लिन देशको प्रतिनिधि भएर गएका डा. रिजाल स्वदेश आउँदा जागिर सस्पेन्स गरिएको थियो । त्यसपछि डा. विहारी लाल श्रेष्ठ, सानुमाया दली र उनले राजीनामा दिए ।
२०४६ सालमा उनले डा. मधु घिमिरे, डा. गोविन्द शर्मा, डा. ध्रुव मुडभरी, डा. गुरु ढकाल तथा डा. आनन्दसँग मिलेर कमलपोखरीमा ओम अस्पताल स्थापना गरे जसलाई २०५८ सालमा चाबहिल सारियो । अहिले ओम अस्पतालमा मुटु रोगबाहेक सबै सेवा उपलब्ध छ । १ सय ७५ सिट क्षमताको ओम अस्पताल निजी स्तरको ठूलो अस्पताल हो ।
चिकित्सकीय कथा
डा.भोला रिजाललाई जीवनमा घटेका अनेकौं घटनाले यो बाटोमा डोर्यायो । उनी १० वर्षको हुँदा परिवारसहित इटहरीमा बस्थे । गाउँभरि १० घर थिए । ती सबै घर खरका थिए । एक रात गाउँमा लागेको आगोले सबै घर जले । घरसँगै धेरै मानिस पनि जले । भोला रिजाल त्यो बेला गाउँलेको उपचार गर्ने साना डाक्टर बने । शरीर जलेर घाइते भएकालाई उनले नजिकैको स्वास्थ्य चौकीबाट औषधि ल्याएर बाँडे । उनको सहयोग देखेर रिजालका बुवालाई घाइतेले तिम्रो छोरा एकदिन ठूलो डाक्टर हुन्छ भनेका थिए । त्यो समयमै उनलाई स्थानीय बासिन्दाले ‘छोटे डाक्टर’ भनेर बोलाउँथे । उक्त घटनापछि उनमा चिकित्सक हुने इच्छा जाग्यो । त्यही घटना उनका लागि प्रेरणास्रोत पनि बन्यो ।
उनलाई स्त्री रोग विशेषज्ञ भने आफ्नी श्रीमतीलाई परेको अप्ठ्यारोले बनायो । २०३५ सालको कुरा हो । त्यो बेलामा डा. रिजाल राजविराजमा थिए । श्रीमतीलाई सुत्केरी बेथाले च्याप्यो । बेथाले मृत्युको रूप लिन खोजिसकेको थियो । एनेस्थेसिया र अप्रेसनका लागि कोही तयार भएनन् । राजविराजमा भएका चिकित्सकलाई डा. रिजालले एनेस्थेसिया म दिन्छु तपाईं अप्रेसन गर्नुहोस् भन्दा पनि आँट गरेनन् । केही सीप नलागेपछि राति १२ बजे अञ्चलाधीश महेश उपाध्यायको गाडीमा श्रीमतीलाई विराटनगर अस्पताल लगे । त्यहाँ पुर्याउँदा उनकी श्रीमतीको शरीरको तापक्रम १ सय ६ डिग्री पुगिसकेको थियो । सुरुमा डराए पनि डा. रिजालले आश्वासन दिएपछि डा. कस्तूरी मल्ल एवं विमला अर्यालले उनकी श्रीमतीको उपचार गरे । एनेस्थेसिया डा. विजय शर्माले दिएका थिए । शिशु बाँच्छ भन्ने थिएन, आमालाई बचाउनु नै ठूलो कुरा थियो । संयोगवश आमा एवं शिशु दुवै बाँचे । त्यस्तो घटनाबाट जन्मिएकाले कान्छो छोराको नाम प्रलय राखेको डा. रिजाल बताउँछन् । यो घटनाले उनलाई स्त्रीरोग विशेषज्ञ बन्ने प्रेरणा प्रदान गर्यो । २०३५ सालमा कान्छा छोराको जन्म भयो । त्यसपछि २०३६ सालमा पोस्ट ग्य्राजुएट गर्न उनी फेरि ढाका गए । श्रीमतीलाई परेको घटनाले उनलाई स्त्री रोगमा पोस्ट ग्य्राजुएसन गर्ने इच्छा थियो । शुभचिन्तकसँग पनि पढ्ने विषयमा पनि सल्लाह मागे । धेरैले उनलाई स्त्री रोग विशेषज्ञ नबन्न सल्लाह दिए । उनीभन्दा अघि एकजना पुरुष स्त्री रोग विशेषज्ञ थिए । उनी धेरै दिन टिक्न नसकेर बेलायत गएका थिए । त्यसैले डा. रिजालका शुभचिन्तकले पनि उनलाई स्त्रीरोग विशेषज्ञभन्दा अरू नै विषय पढ्ने सल्लाह दिएका थिए तर डा. रिजाल आफ्नो इच्छामा अडिग रहे । उनले श्रीमतीबाट पनि स्त्रीरोग विशेषज्ञ बन्ने सल्लाह पाए ।
कामको सिलसिलामा राजविराज बस्दा पनि उनले राम्रै प्रतिक्रिया पाएका थिए । घुम्टो ओढ्ने त्यो समाजका महिला पनि महिला चिकित्सकभन्दा उनीसँगै उपचार गर्न मन पराउँथे । यसले गर्दा पनि उनलाई स्त्री रोग विशेषज्ञ बन्न थप ऊर्जा मिल्यो । राम्रो सेवा दिए महिला पुरुष भन्ने हुँदैन भन्ने उनको धारणा छ । हालसम्म उनले ५० हजारभन्दा बढी महिलाको उपचार गरिसकेका छन् ।
सामाजिक कार्य
चिकित्सकको जीवन नै सामाजिक काममा बितेको हुन्छ । बिरामीको सेवा गरेर नयाँ जीवन दिने चिकित्सकका लागि त्यो भन्दा ठूलो सामाजिक सेवा के नै हुन सक्छ र ? यसका अतिरिक्त विभिन्न संघसंस्थामार्फत् उनले अनेकौँ सहयोग गरेका छन् । डा. रिजाल स्वामी कमल नयनाचार्य मुक्तिनाथ पीठाधीश्वरमा २०५८ सालतिर अस्पताल निर्माण गरेका छन् । त्यो ट्रस्टमा डा. रिजालकी श्रीमती पनि संलग्न छिन् । उनी उक्त अस्पतालका लागि निःशुल्क औषधि उपलब्ध गराउँछन् । आफू पनि समय-समयमा गएर बिरामीको उपचार गर्छन् । डा. रिजालले वर्षको एकपटक छालिङ, मातातीर्थ, मुग्लिङ तथा मनकामनामा मेडिकल क्याम्प राखेर बिरामीको निःशुल्क उपचार गर्ने गरेका छन् ।
फिटनेस
डा. रिजाल बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म व्यस्त रहन्छन् । यति व्यस्त भएपछि फिटनेसका लागि कुनै उपकरण आवश्यक नभएको उनको ठहर छ । ६२ वर्षको उमेरमा पनि उनी उत्तिकै फुर्तिला छन् । उनी शरीर तथा अनुहार मनको दर्पण हो भन्ने विचार राख्छन् । जब कुनै पनि मानिसको मस्तिष्कमा परोपकार गरौं भन्ने कुरा आउँछ तब ऊ खुसी हुन्छ । सकारात्मक सोच राख्नुपर्छ । कुनै पनि कुरा यसो गर्छु भनेर बोलेर मात्र हुँदैन, पूरा गर्नुपर्छ । मेरा यी हात सधै अर्काका लागि काम लागून् भन्ने सोच राख्नुपर्छ । बुद्धिले भ्याएसम्म अरूको सहयोग गर्नुपर्छ, कसैको कुभलो चाहनु हुँदैन । फिटनेस त्यसै कायम रहन्छ ।
डा. रिजाल बस्दा कहिल्यै कुप्रो भएर बस्दैनन् । केही वर्षअघि राजविराजमा हुँदा बाकस उठाउने क्रममा डिस्क प्रोल्याप्स भयो । केही समय ट्रेडमिल प्रयोग गरे पनि अहिले गरेका छैनन् । पहिले डा. सौभाग्यमान मल्ल र उनी भएर आधा घन्टा मर्निङ वाक गर्थे । बाटाबाटामा हत्याका घटना हुन थालेपछि उनले मर्निङ वाक छाडे । कुनै योगको कार्यक्रम तथा धार्मिक प्रवचन छ भने भ्याएसम्म पुग्छन् ।
एक व्यक्ति अनेक रुचि
८-९ वर्षको उमेरदेखि नै डा. रिजाललाई गायन तथा लेखनमा रुचि थियो । उनका बुवा पनि कुशल कवि थिए । घरमा पाहुना आउँदा होस् वा गीत सुन्न मन लागे बुवा तथा जिजुबुवाले गीत गाइदे भन्थे । त्यसले गर्दा पनि उनलाई ऊर्जा मिल्थ्यो । ५ कक्षादेखि नै गोष्ठीमा भाग लिन्थे । उनी हप्तैपिच्छे पुरस्कार जित्थे । पुरस्कारमा उनले कलम, पेन्सिल तथा कापी पाउँथे । आफूले पाएको पुरस्कार धेरै भएर अरूलाई पनि बाँड्थे ।
डा. रिजालले अहिलेसम्म ११ वटा एल्बम निकालिसकेका छन् । उनी वर्षको एक, दुईवटा एल्बम निरन्तर निकालिरहेका छन् । मानसरोवर फिल्मस् प्रालिबाट ९ वटा चलचित्र निर्माण गरिसकेका छन् । गौंथली, छोरी-बुहारी, साथी आदि चलचित्रका परिकल्पनाकार तथा निर्देशक डा. रिजाल नै हुन् । २४ घन्टा बिरामीको सेवामा लागिरहने डा. रिजालले कुन समयमा लेख्न भ्याउँछन् भन्ने जिज्ञासामा उनी जुन बेला मनमा फुर्छ त्यही बेला टिप्ने गरेको बताउँछन् । बिरामीको पीडामा, सन्तान नहुनेको पीडामा, देशको अवस्था वा जुनसुकै विषयमा पनि उनले गीत लेख्ने गरेका छन् । कहिलेकाहीँ बिरामीको उपचार गर्दागर्दै गीत फुरे सहयोगीलाई टिप्न लगाउँछन् ।
डा. रिजालले विराटनगरमै हुँदा स्व. माधव सापकोटा, यादव सापकोटा आदि मिलेर ‘हिमकला मन्दिर’ नामक संस्था खोलेका थिए । डा. रिजाल, लक्ष्मीनाथ शर्मा, गंगा रिजाल, प्रभु श्रेष्ठ, विजय थापा आदि साथी मिलेर नाटक तथा सांस्कृतिक कार्यक्रम देखाउँथे । उनीहरू १६-१७ जनाको समूह थियो । महिनामा एकपटक नाटक देखाउँथे । बनारसको बीएचयुमा पनि आफूहरूले नाटक देखाएको डा. रिजाल बताउँछन् । यही नाटक देखाउने कलालाई उनीहरूले ढाका पढ्दा पनि निरन्तरता दिए । त्यहाँका विभिन्न मेडिकल कलेजमा पनि धेरैपटक उनीहरूले नाटक देखाए । उनी बंगाली भाषामा पनि गीत सुनाउँथे ।
राजनीतिप्रतिको धारणामा डा. रिजाल भन्छन्- ‘राजनीतिप्रति वितृष्णा छैन तर अहिलेका राजनीतिज्ञले जनताको जीवनसँग खेलवाड गरेका छन् ।’ राजनैतिक खिचातानीले देशको भविष्य नराम्रो भएको उनको ठहर छ । यहाँको राजनीतिज्ञको भविष्य ठीक छैन । यही रवैया रहने हो भने उनीहरूलाई कसैले बाँकी राख्दैनन् । राजनीतिमा लाग्ने नलाग्ने इच्छा ममा छैन । मेरो जीवन नै ममाथि छैन । मैले नियन्त्रण गरेर हुँदैन । भोलि देशलाई वा जनतालाई कुनै पनि क्षेत्रमा मेरो आवश्यकता पर्यो भने म त्यहाँ पुग्नुपर्छ, गर्नुपर्छ । विचार नभए पनि भोलि जनताले उनको राजनीतिमा आवश्यकता देखे आफू राजनीतिमा लाग्न सक्ने कूटनीतिक जवाफ उनले दिए ।
गीत, साहित्य, राजनीतिजस्तै उनको रुचि खेलकुदमा पनि छ । २०१७ सालमा विराटनगर आएका डा. रिजाललाई बिस्तारै खेलकुदमा पनि रुचि बढ्न थाल्यो । उनले बी डिभिजन फुटबल खेले । लङजम्प, हाइजम्प पनि उनलाई मनपर्ने खेल हुन् । साइक्लिङको प्रतिस्पर्धा हुँदा उनी पुरस्कार पाउँथे । अहिले रुचि भए पनि व्यस्तता तथा उमेरका कारण खेलकुदलाई समय दिन सकेका छैनन् ।

नेपालमा टेस्टट्युब बेबीको थालनी
नेपालमा धेरै निःसन्तान दम्पती छन् । एकातिर शिशु जन्माएर सडकमै फालेर हिँड्ने आमाहरू पनि छन् भने अर्कातिर सन्तान नहुनुको पीडाले छटपटिने आमाहरू पनि छन् । सामाजिक बोझले गर्दा आमाहरू आफ्ना सन्तान फाल्न बाध्य हुन्छन् । भोक लागेको बेलामा खानेकुरा खाएर भोक मेटाउन सकिन्छ । सन्तानको भोक मेटाउन सन्तान नै चाहिन्छ । नेपालमा कुनै पनि आमाले निःसन्तान भएर छटपटिनु नपरोस् भन्ने मान्यता डा. रिजालको छ । यसले गर्दा सन्तान नहुनेहरूका लागि २०६० सालमा डाक्टर रिजालकै सक्रियतामा ओम अस्पतालमा ‘टेस्टट्युब बेबी’ प्रविधि भित्रिएको छ । यसले धेरै निःसन्तान दम्पतीलाई सन्तान दिएको छ । यहाँ पहिलोपटक ४४ वषर्ीया सन्ध्या तामाङको कोखबाट ओममणि तामाङको जन्म भएको थियो । आउँदो जुलाई महिनासम्म ओम अस्पतालले २ सय जना टेस्टट्युब बेबीलाई जन्म दिइसकेको हुनेछ ।
टेस्ट ट्युबबाट शिशु जन्माउन श्रीमान् श्रीमती दुवैको भूमिका रहने डा. रिजाल बताउँछन् । यसमा श्रीमान्मा शुक्रकीट नभए अर्को पुरुषबाट लिन सकिन्छ । श्रीमतीको अण्ड तयार नभए अरुबाट अण्ड तयार गर्न सकिन्छ । प्राकृतिक यौन सम्पर्कबाट शिशु जन्माउने तथा टेस्टट्युब प्रविधिबाट शिशु जन्माउने प्रविधि एउटै हो ।
गर्भपतनलाई कानुनी मान्यता
नेपालमा पहिलोपटक गर्भपतनलाई कानुनी मान्यता दिनुपर्छ भनेर आवाज उठाउने डा. रिजाल नै थिए । त्यसअघि गर्भपतन गर्न कोही अस्पताल जाँदैनथे । उनीहरू अञ्जानमै असुरक्षित गर्भपतनमा लाग्थे । यसो गर्दा धेरै निर्दोषहरूको ज्यान जान्थ्यो । गर्भपतनलाई कानुनी मान्यता दिनुअघि कति आमा हुन लागेका निर्दोषहरू मर्थे भने कति गम्भीर स्वास्थ्य समस्यामा पर्थे ।
तोडफोडको संस्कृति
अहिले सबै क्षेत्र विकृत भैरहेको छ । यसो हुनुको पछाडि शिक्षाको अभाव रहेको डा. रिजाल बताउँछन् । कहिलेकाहीँ अस्पतालको लापरबाहीले बिरामीको मृत्यु हुन्छ भने कहिले रोगका कारण बिरामी मर्छन् । बिरामीको मृत्यु भए अस्पताल तोडफोड गर्ने प्रवृत्ति बढ्दो छ । त्यसपछि बिरामीका आफन्तलाई क्षतिपूर्ति दिने परिपाटी छ । त्यस्तो क्षतिपूर्ति बाध्यताले गर्दा दिनुपरेको डा. रिजाल बताउँछन् । डाक्टर भगवान् होइनन् भन्ने मान्यता उनको छ । कुनै पनि चिकित्सकले बिरामीलाई मार्ने उद्देश्य राखेका हुँदैनन् । उपचार गर्दागर्दै बिरामीको मृत्यु हुन्छ । आफन्तले आवेेशमा आई अस्पताल तोडफोड गर्दा करोडौंको नोक्सान हुन्छ । त्यो समयमा केही रकम क्षतिपूर्ति दिएर बच्नुको विकल्प हुँदैन । देशमा विधिको शासन नभएकाले यस्तो भएको डा. रिजाल बताउँछन् ।
डा. रिजालको रोजाइ जनावर गाई
पर्यटकीय स्थल मुस्ताङ
समकालीन साथी प्रभु श्रेष्ठ, लक्ष्मीनाथ शर्मा
नायक राजेश हमाल
नायिका गौरी मल्ल
गायक रामकृष्ण ढकाल
गायिका अञ्जु पन्त
चलचित्र सुन्दर मेरो नाम
संगीतकार शम्भुजित बाँस्कोटा
चरा ढुकुर-जुरेली
विदेश बंगलादेश
टेलिभिजन
कार्यक्रम समाचार, तीतो सत्य, जिरे खुर्सानी तथा मेरी बास्सै ।
जीवनसाथी

विवाहको कुरा चलेपछि डा. रिजालका काका र पण्डित केटी माग्न गएका थिए । सुरुमा घरकी सबभन्दा कान्छी छोरी पढ्दैछ भनेर विवाह गरिदिन मानेनन् । रिजाल परिवार ठूलो छ, धेरै दुःख गर्नुपर्छ, काम गर्न सक्दिन भनेर सरलाको परिवारबाट विवाह गर्न मानेका थिएनन् । पछि राम्रो परिवारबाट कुरा आएको छ भनेर विवाह गर्ने निर्णय भयो । २०१९ साल असार ४ गते धरानकी सरला घिमिरेसँग डा. रिजालको विवाह भयो । विवाह गर्दा सरला १२ वर्षकी थिइन् भने डा. रिजाल १५ वर्षका मात्र थिए । डा. रिजालले श्रीमतीलाई पहिलोपटक देखेको पनि त्यही बेला थियो । विवाहको बेला डा. रिजालले जग्गेबाट भाग्ने निर्णय गरेका थिए तर स्वयम्वरको बेलामा सरलाको निर्दोष र कोमल अनुहार देखेपछि हेरेको हेर्यै भए ।
विवाहपछि डा. रिजालले अध्ययनलाई निरन्तरता दिँदै वरिष्ठ स्त्री रोग विशेषज्ञ बन्न सफल भए । उनकी श्रीमतीले भने ७ कक्षासम्मको अध्ययनमै सीमित रहनुपर्यो । यद्यपि विवाहअघि पढाउँछु भनेर विवाह गरेका थिए । डा. रिजाल अध्ययनको सिलसिलामा धेरैजसो बाहिर भए । त्यो जमानामा ठूलाबडाको अगाडि कुरा गर्न सकिँदैनथ्यो । त्यसले गर्दा पनि सरलाको पढाइ रोकियो । विवाह भए पनि एक-डेढ वर्षसम्म उनीहरूको बोलचाल भएन । त्यो बेलाको समाज नै त्यस्तै थियो । सँगै बसे पनि बोलचाल भने भएको थिएन । विवाह भएको डेढ वर्षपछि मात्र उनीहरूको बोलचाल भयो । श्रीमान्-श्रीमती एक-अर्काका अगाडि बोल्न धक मान्थे । विवाहअघि माइतीमा केही काम नगरेकी सरला विवाहपछि घरमा चुपचाप सबै काम गर्थिन् । घर हो मैले काम गर्नुपर्छ भन्ने भावना त्यो बेला आफूमा आएको श्रीमती सरला रिजालले बताइन् ।
विवाहपछि एसएलसी उत्तीर्ण भएर डा. रिजाल आइएस्सी पढ्न बनारस गए । बेलाबेलामा उनी श्रीमती भेट्न घर आउँथे । आइएस्सी सिद्धिएपछि ढाका पढ्न गए । त्यहाँ जानुअघि जेठो छोरा कपिल जन्मिसकेका थिए । बीचबीचमा घर आउँथे । श्रीमती तथा सन्तानको सम्झनाले सताउँथ्यो । तैपनि श्रीमतीले पठाएको चिठीले उनलाई ढाडस दिन्थ्यो र थप पढ्ने ऊर्जा प्राप्त हुन्थ्यो । श्रीमतीले घरपरिवार नसम्हालेकी भए आज म यो स्थानमा हुन्नथंे, विगत सम्झदै डा. रिजाल भन्छन्-’उनले जहिले चिठी पठाउँदा पनि राम्रोसँग पढाइ सिध्याएर आउनू, घरपरिवार सम्हाल्ने म छु । पछि सँगै बस्ने बेला आउँछ भनेर लेख्थिन् । सरलाका चिठीहरू नै डा. रिजालका लागि प्रेरणाको स्रोत बने । जीवनको ४८ वर्ष सँगै बसेको यो जोडीको अहिलेसम्म कुनै ठाकठुक परेको छैन । डा. रिजाल सधैं काममा व्यस्त्ा रहने भएकाले ठाकठुक नपरेको सरलाले बताइन् ।
३ छोराका बाबुआमा रिजाल दम्पतीका सबै सन्तान विदेशमा छन् । जेठा छोरा कपिल बेलायतमा छन् । उनी डेन्टिस्ट हुन् । माहिला छोरा मनीष पनि परिवारसहित क्यानाडा बस्छन् । उनले इन्जिनियरिङ पेसा रोजे । कान्छो छोरा प्रलय पनि डेन्टिस्ट नै हुन् । उनी अहिले नर्वेमा छन् ।
डा. रिजालले लगाउने पहिरन धेरैजसो सरलाले नै किनिदिन्छिन् । कहिलेकाहीँ डा. रिजाल आफैं किन्छन् भने छोराहरूले पनि पठाइदिने गरेका छन् । २४ घन्टै व्यस्त रहे पनि डा. रिजालको पेसाको सम्मान गर्दै आएकी छिन्, सरलाले । डा. रिजाल पनि बिरामी जाँचेर बाँकी रहेको सबै समय सरलालाई दिन्छन् । बिहानदेखि बेलुकासम्म व्यस्त रहने डा. रिजाल बेलुकाको खाना प्रायः घरमै खान्छन् ।
जीवनमा हरेक मोड आउँछन् तर पनि ती मोडलाई सहज रूपमा आत्मसात् गर्दै जानुपर्छ । केही कुरामा सम्झौता पनि गर्नुपर्ने हुन्छ । श्रीमान्-श्रीमतीबीच इगोको भावना आउन दिनु हुँदैन । यसो भए दाम्पत्य जीवन बलियो हुने ठहर रिजाल दम्पतीको छ ।
डा. भोला रिजाल
जीवन के हो ?
भगवान्को उपहार हो । यो उपहारलाई प्रसादका रूपमा सदुपयोग गर्नुपर्छ ।
श्रीमतीको मन पर्ने बानी ?
उनी सरल छिन् । उनको सबै बानी मलाई मन पर्छ ।
मन नपर्ने बानी ?
उनी कहिल्यै रिसाउँदिनन् । कहिलेकाहीँ रिसाए पनि हुन्थ्यो जस्तो लाग्छ ।
श्रीमतीले पकाएको मन पर्ने परिकार ?
सेल रोटी, अनरसा र मासुको कवाफ ।
श्रीमतीलाई उपहार दिनुहुन्छ ?
म्यारिज एनिभर्सरी तथा जन्मदिन सम्भिmएको बेला उपहार आदान-प्रदान हुन्छ ।
धर्ममा आस्था ?
सधैं दिनको सुरुवात भगवान्लाई ढोगेर गर्छु । पूजा नगरे पनि भगवान्प्रति आस्था छ । म स्वामी कमल नयनाचार्यलाई मान्छु । धर्ममा भन्दा पनि कर्ममा विश्वास गर्नुपर्छ भन्ने मान्यता छ ।
सरला
डा. रिजालको मन पर्ने बानी ?
सबै मन पर्छ ।
डा. रिजाल तपाईंका लागि ?
सुखदुःखमा साथ दिने जीवनसाथी ।
डा. रिजालले काममा सघाउनुहुन्छ ?
समय भएको बेलामा सघाउनुहुन्छ ।
डा. रिजालले पकाएको मन पर्ने परिकार ?
उहाँ अचार असाध्यै मीठो बनाउनुहुन्छ ।
धर्ममा आस्था ?
मलाई पूजापाठमा असाध्यै विश्वास लाग्छ । म दिनहुँ दुई घन्टा पूजापाठमा बिताउँछु ।
आउँदो दुई महिना भित्रमा २ सय टेस्टट्युब बेबी जन्मिसक्नेछन्
तुलनात्मक रूपमा नेपाली महिलाको स्वास्थ्यस्थिति कस्तो छ ?
नेपालमा महिलाको मात्र नभएर समष्टिगत रूपमा हेर्दा स्वास्थ्यको स्थिति अत्यन्तै भयावह छ । अन्य देशमा शून्य रहेको अवस्थामा अझै पनि हाम्रो देशमा मातृमृत्यु ५ सयको हाराहारीमा छ । शिशुमृत्युदर पनि त्यही किसिमले अत्यन्तै डरलाग्दो छ । जनसंख्याको ५० प्रतिशत हिस्सा ओगटेका महिलाको यो स्थिति दुःखको कुरा हो । त्यसैले महिलालाई कसरी स्वास्थ्य सेवा प्रदान गर्ने भन्ने विषयमा ध्यानु दिनु आवश्यक छ ।
पहिले महिलामा कुन रोग बढी देखा पथ्र्यो ? अहिले कुन रोग बढी मात्रामा देखिन्छ ?
महिलामा पहिले र अहिले देखापर्ने रोगमा केही परिवर्तन आएको छ । पहिले रोग निदान हुन नसक्दा महिलाहरू घाँस लिन जाँदा मर्थे, रक्तअल्पता तथा सेतो पानी, रगत गएर मर्थे । रक्तस्रावका कारण वा सुत्केरी बेथाले समयमा उपचार नपाउँदा मर्थे । अहिले पनि यी सब कुरा हुन्छन् । अहिले रोगका बारेमा थाहा हुन्छ । यदि सुत्केरी तथा प्रजनन्बाट मरेको हो भने पनि थाहा पाउने अवस्था छ । क्यान्सरबाट मरे पनि थाहा हुन्छ । वाण लागेर मर्यो वा पेट दुखेर मर्यो भन्ने कुरा उपचार गरेपछि पत्ता लाग्छ । कतिपय गर्भवती महिला नलीमा शिशु अड्किएर मर्थे । अहिले त्यो अवस्था छैन । अहिले महिला आफैं सचेत भएका हुँदा अगाडि आएर जाँच गर्ने प्रथा छ ।
सरकारी स्तरबाट स्वास्थ्य क्षेत्रमा के-कस्तो सहयोग भएको छ ?
सरकारी स्तरबाटै दुर्गम क्षेत्रमा स्वास्थ्य संस्था प्रभावकारी ढंगमा संचालन गरिनुपर्ने हो । अहिले अलिअलि मात्र संचालन भएका छन् । धेरैजसो ठाउँमा जनशक्तिको अभाव छ । हुनुपर्ने जति भएको छैन ।
ग्रामीण तथा शहरी क्षेत्रका महिलामा कुन रोग बढी देखापर्छ ?
ग्रामीण क्षेत्रमा कुपोषण, अनभिज्ञता, पि्रग्नेन्सीसम्बन्धी कारण थाहा नभएर, रक्तस्राव आदि कारणबाट रोग लाग्ने देखिएको छ । चेतनाको अभावका कारण स्वस्थ रहन जति सावधानी अपनाउनुपथ्र्यो त्यति नअपनाएका कारण ग्रामीण क्षेत्रमा धेरै रोग देखा परेका छन् । सहरी क्षेत्रमा गर्भपतन, क्यान्सर वा अरू संक्रमणबाट धेरैको ज्यान जाने गरेको देखिन्छ ।
महिलाले कति वर्षको उमेरदेखि कुन उमेरसम्म शिशु जन्माउनु उपयुक्त हुन्छ ?
१८ वर्ष पुगेपछि मात्र सन्तान जन्म्ााउनु उपयुक्त हुन्छ । यसअघि सन्तान जन्माए महिलाको मानसिक, शारीरिक स्वास्थ्य एवं व्यक्तित्व विकासमा दुस्प्रभाव पर्छ ।
अहिले सिजेरियनबाट शिशु जन्माउने प्रवृत्ति बढ्दो छ ? यसले महिला तथा शिशुको स्वास्थ्यमा कस्तो असर पर्छ ?
प्रवृत्ति बढेको होइन । पहिले शिशु जन्माउन नसकेर जतिको मृत्यु हुन्थ्यो अहिले त्यो मृत्युमा कमी आएको छ । शिशु अड्किएर मर्ने, आमा मर्ने घटना सिजेरियनका कारण कम भएको छ । तर कता-कता सिजेरियन नै बढी भैरहेको छ । यसका धेरै कारण हुन सक्छन् । कुनै सेन्टरमा जटिल बिरामी अरूबाट रिफर भएर आएका वा धेरै अप्ठ्यारो परेर आएका बिरामीहरू, धेरै वर्ष बाँझो रहेर शिशु नभएकाहरू, शिशु जन्माउन गाह्रो भएका कारण यस्त्ाा अप्रेसन हुन सक्छन् । यसलाई नकारात्मक रूपमा लिनु हुँदैन । यसले गर्दा आमाको स्वास्थ्य स्थिति राम्रो हुन्छ । शिशु त यसबाट धेरै लाभान्वित हुन्छन् । धेरै शिशु मर्नबाट जोगिन्छन् । यसलाई कसैले पैसा कमाउनका लगि दुरुपयोग गरेको छ भने त्यो गलत कुरा हो ।
नेपालमा आउने औषधि विकसित देशले परीक्षणका लागि पठाउँछ भन्ने कुरा कत्तिको सही छ ?
कता-कता हामीले पनि यो कुरा सुनेका छौं । तर सबै औषधि परीक्षणका लागि पठाइन्छ, त्यहाँ नचलेका औषधि यहाँ आउँछन् भन्ने होइन । हाम्रो अविकसित देश विकसित देशमा ती कुरा लागू गर्न मान्दैनन् । हाम्रो मृत्युदरसँग ती चीज तुलना गर्नुपर्ने हुन्छ । विकसित देशलाई मृत्युदर कम भएको वा नभएको ठाउँमा त्यो चीजमा किन रिस्क लिने भन्ने हुन्छ । परिवार नियोजनकै साधनको कुरा गर्ने हो भने पहिले त्यो विकसित देशमा मान्य थिएन तर हामीले चलाउन बाध्य हुनुपर्यो । किनभने हाम्रो मृत्युदर धेरै हँुदा ती चीज चलाएको हो । यद्यपि सबै कुरा परीक्षणका लागि आउँछन् भन्ने सत्य होइन ।
टेस्टट्युब बेबीको सुरुवात नेपालमा कहिलेदेखि भएको हो ? अहिलेसम्म ओम अस्पतालले कतिजना टेस्टट्युब बेबी जन्माएको छ ?
ओम अस्पतालले नेपालमा २०५८ सालदेखि नै टेस्टट्युब बेबीको सेवा प्रारम्भ गरे पनि २०६० सालमा आएर प्रभावकारी देखियो । पहिलो टेस्टट्युब बेबीका रूपमा ओममणि तामाङको जन्म भयो । त्यसपछि डा. सुशील कोइरालाका दुई सन्तान जन्मिए । तेस्रो कृष्ण भट्टराईका एक छोरासहित चारवटा शिशु पहिलो ब्याचमा जन्मिए । आउँदो दुई महिना भित्रमा २ सय टेस्टट्युब बेबी जन्मिसक्नेछन् । यसलाई हामी उत्सवका रूपमा मनाउने विचार गरेका छौं ।
नेपालमा गर्भपतनालई कानुनी मान्यत्ाा दिइएको छ । यो कत्तिको प्रभावकारी छ ?
नेपालमा गर्भपतनलाई २०५९ सालमा कानुनी मान्यता दिइएको हो । मान्यता दिनुअघि लुकिछिपी गर्भपतन गर्दा हजारौं महिलाले ज्यान गुमाउनुपथ्र्यो । कानुनी मान्यता पाएपछि महिला स्वास्थ्यमा सकारात्मक प्रभाव परेको छ ।
महिलाको स्वास्थ्यस्थितिमा सुधार ल्याउन के गर्नुपर्ला ?
महिलाहरू साक्षर, सचेत तथा आर्थिक हिसाबले सक्षम नभएसम्म कहिल्यै उनीहरूको स्वास्थ्यमा सुधार आउँदैन । स्वास्थ्यमा सुधार ल्याउन शिक्षा एक मात्र विकल्प रहेको कुरा जानकारी गराउनु आवश्यक छ । छोरीलाई शिक्षा भन्ने कुरा मूल मन्त्रका रूपमा अगाडि बढाउनुपर्छ । त्यसपछि मात्र स्वास्थ्य तथा आर्थिकस्थिति राम्रो हुन्छ । मैले कता-कता आर्थिकस्थितिमा मात्र ध्यान दिनुपर्छ भन्ने सुनेको छु त्यो असमझदारीका कारण भनिएको हो । महिलालाई साक्षर बनाएपछि मात्र…
उपासना पाण्डे
श्रोत: कान्तिपुर नारी









